७ चैत्र २०८२, शनिबार
Follow Us

कांग्रेस कार्यसमिति बैठक उपसभापति शर्माले चलाउने, सभापति थापाको राजीनामा अस्वीकृत गर्ने तयारी

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०८२, बिहीबार ०५:५७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा भोलि (शुक्रबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकृत गरिने भएको छ । गत २१ फागुनमा सम्पन्न निर्वाचनमा व्यहोर्नु परेको पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका थिए । शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने तय भएको छ ।

सभापति थापा बैठकमा सहभागी नहुने भएपछि शर्माले बैठक सञ्चालन गर्ने र थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । पार्टी स्रोतका अनुसार उपसभापति शर्माले चुनावी परिणामको जिम्मेवारी कुनै एउटा व्यक्तिले मात्र लिनु नपर्ने तर्कसहित राजीनामा अस्वीकृत गर्ने प्रस्ताव गर्नेछन् । ‘विशेष महाधिवेशनबाट चुनिएर आएको नयाँ नेतृत्वले चुनावका लागि निकै छोटो समय मात्र तयारी गर्न पाएको र पराजयको कारण एकल व्यक्ति नभएको निष्कर्षसहित बैठकमा प्रस्ताव लगिनेछ,’ कांग्रेसका एक पदाधिकारीले भने ।

पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापा २१ फागुनको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहसँग पराजित भए । विशेष महाधिवेशनबाट निर्वाचित भएका अधिकांश पदाधिकारीहरू निर्वाचनमा पराजित भएपछि थापामाथि नैतिक प्रश्न उठेको थियो ।

निर्वाचन लगत्तै राजीनामा दिन खोजे पनि उपसभापति शर्मा लगायतका नेताहरू र विभिन्न जिल्लाका कार्यकर्ताहरूको दबाबका कारण उनी रोकिएका थिए । ललितपुर लगायतका विभिन्न जिल्लाका नेताहरूले थापाले राजीनामा दिन नहुने भन्दै संयुक्त विज्ञप्ति समेत जारी गरेका थिए । शुक्रबारको बैठकमा चुनावी समीक्षाका लागि तल्लो तहबाट प्राप्त प्रारम्भिक प्रतिवेदनहरू समेत पेस गरिनेछ ।

कांग्रेसले सबै निर्वाचन क्षेत्रलाई पत्र पठाउँदै विजय वा पराजयको विस्तृत कारणसहितको रिपोर्ट पठाउन निर्देशन दिएको थियो । हालसम्म प्राप्त भएका रिपोर्टहरूको साझा निष्कर्षबारे उपसभापति शर्माले बैठकलाई जानकारी गराउनेछन् । तल्लो तहबाट सबै विवरण आउन बाँकी रहेकाले बैठकमा हालसम्मको प्रारम्भिक वस्तुस्थिति प्रस्तुत गरिने बताइएको छ ।

धेरै पढिएको