अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित वार्षिक विद्यावारिधि (PhD) उत्कृष्ट शोधग्रन्थ पुरस्कारको यस वर्षको विजेता घोषणा गरेको छ। यस वर्षको पुरस्कार डा. आइडेन लेर्चलाई प्रदान गरिएको छ। उनकाे विद्यावारिधिको शोधग्रन्थले न्यायालयहरूले मुद्दाको अन्तिम किनारा नलाग्दै कुनै पक्षलाई तत्काल हुन सक्ने अन्यायबाट जोगाउन कस्ता प्रकारका आदेश दिन सक्छन् भन्ने विषयमा केन्द्रित अध्ययन प्रस्तुत गरेको छ।
डा. लेर्चको उक्त शोधग्रन्थ यस वर्ष अक्सफोर्ड विश्वविद्यालयको कानून संकायमा सबैभन्दा उत्कृष्ट विद्यावारिधि शोधग्रन्थको रूपमा छनोट भएको थियो।
अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्रा. सुवेदीलाई सो विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि (Doctor of Civil Law – DCL) प्रदान गरेको थियो। सन् २०२० मा विश्वविद्यालयले प्रा. सुवेदीको नाममा यो वार्षिक पुरस्कार स्थापना गरेको हो।
प्रा. सुवेदी बेलायतको लीड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक, बेलायतका ब्यारिस्टर तथा केसी (King’s Counsel) पनि हुन्। दुई वर्षअघि अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजले अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उनले पुर्याएको असाधारण योगदानका लागि उनलाई आजीवन मानार्थ प्राज्ञ (Honorary Fellow)को रूपमा चयन गरेको थियो।