काठमाडौँ। ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ अफ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरेका छन् ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपराह्न सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।
उपसभामुख इन्दिरा राना पनि छलफलमा सहभागी थिइन् । सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरे । समितिको टीओआर र समयावधि तथा सदस्यको नामावलीबारे प्रस्ताव गर्न उनले दलहरूसँग माग गरेका छन् ।
प्रमुख दलहरूले संसदीय छानबिन समिति गठन गर्न नै उपर्युक्त हुने सुझाव दिएका सभामुखको सचिवालयले जनाएको छ । उनीहरूले विधेयकको व्यवस्था तोडमोड गरिएको विषय व्यवस्थापिकाको भएकाले सरकारको धारणा माग गर्न आवश्यक नभएको बताएका थिए । तीन वटै प्रमुख दलका नेताहरूले आ-आफ्ना दलसँग छलफल गरेर सभामुखलाई जानकारी गराउने बताएका छन् ।
आगामी असार २३ गते बस्ने प्रतिनिधि सभाको बैठक अगावै दलहरूबीच समझदारी गरेर कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामा समितिको प्रस्ताव गर्ने दलहरूबीच सहमति भएको छ ।