बेलायत र नेपालका सार्वजनिक नीति निर्माताहरू, कूटनीतिज्ञ, व्यवसायी तथा प्रविधि क्षेत्रका अगुवाहरूलाई एकै थलोमा ल्याएर नेपाली दूतावास लन्डनले ‘नेपाल–युके टेक फोरम’को आयोजना गरेको छ।
नेपाल डिजिटल नवप्रवर्तनको उदाउँदो केन्द्रको रूपमा कसरी अघि बढिरहेको छ भन्ने विषयमा प्रकाश पार्न र नेपाल तथा बेलायतबिच प्रविधि क्षेत्रमा रणनीतिक साझेदारीका अवसरहरू पहिचान गर्न आयोजित उक्त फोरममा शुक्रबार दुई दर्जनभन्दा बढी वक्ताले आ–आफ्ना विचार व्यक्त गरे।
बेलायतका लागि नेपालका राजदूत चन्द्र कुमार घिमिरे तथा नेपालका लागि बेलायतका राजदूत रब फेनले उद्घाटन सत्रमा नेपालमा लगानी र सम्भावनाका बारेमा चर्चा गरे।
डिजिटल व्यापार र लगानी विषयमा केन्द्रित उक्त सम्मेलनमा ब्रिटिश सांसद तथा ‘अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल’ की अध्यक्ष एलेक्स बेकरले विशेष सम्बोधन गरिन्। त्यस्तै, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ‘युकेका लगानीकर्ताहरूका लागि नेपाल एक एफडीआई गन्तव्य’ भन्ने शीर्षकमा आफ्ना भनाइ राख्दै नेपालमा लगानीका लागि आह्वान गरे।
युकेमा मुख्यालय रहेको आइटी परामर्श तथा साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले ‘नेपाल–युके टेक व्यापारः द्विपक्षीय अवसरहरूको ढोका खोल्दै’ शीर्षकमा प्रस्तुति दिइन्।
दिनभर सञ्चालन भएको कार्यक्रममा डोल्मा इम्प्याक्ट फन्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचर र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले पनि आफ्ना प्रस्तुति दिए।
त्यसैगरी, फोरममा जेनेस सलुशनका प्रमुख प्रविधि अधिकृत निरञ्जन कुँवरले ‘प्रवासी र डिजिटल कूटनीति – ग्लोबल नेपालीहरूको शक्ति’ विषयक फायरसाइड संवाद सञ्चालन गरे। कार्यक्रममा आइएमई ग्रुपका हेमराज ढकालको विशेष प्रस्तुति पनि रहेको थियो।
यसैगरी, बीआइआइ, आइबीएन नेपाल, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स, नेपाल क्लियरिङ हाउस लिमिटेड, ईसेवा, फोनपे, जेनेस सलुशन लगायत कम्पनीहरूको सहभागिता रहेको थियो।
फोरममा ब्रिटिश सांसदहरू, युकेमा मुख्यालय रहेका प्राइभेट इक्विटी, भेन्चर क्यापिटल कम्पनीहरू, एक्सेलेरेटर, इन्क्युबेटर, एन्जेल लगानीकर्ता, फिनटेक, एआई, क्लाउड, साइबर सुरक्षा, एजुटेक, हेल्थटेक, प्रपटेक, इन्सुरटेक, रेगटेकलगायत ६० भन्दा बढी कम्पनीका प्रतिनिधिहरू सहभागी भएका थिए।