लन्डन – ब्रिटिश संसदमा ‘ अल नेपाल पार्लियामेन्टरी ग्रुप’ की अध्यक्ष सांसद एलेक्स बेकरले काठमाडौँ तथा लन्डनबीच सिधा हवाई सेवा सुरु गर्न आवश्यक रहेको बताएकी छिन् ।
शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित उच्चस्तरीय नेपाल-यूके टेक फोरममा बोल्दै सांसद बेकरले दुइ देशबीच सरकार तथा जनस्तरमा सम्बन्ध सुदृढ बनाउनु पर्ने बताइन्।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल अहिले ऊर्जा निर्यात गर्ने देश बनेको र नेपालको प्रविधि क्षेत्र चलायमान रहेको बताए । उनले नेपाल बेलायतका लागि व्यापार र लगानीको उत्कृष्ट गन्तव्यमध्ये एक रहेको भन्दै बेलायती कम्पनीहरूलाई नेपालमा आईटी सेवा आउटसोर्स गर्न आग्रह पनि गरे।
नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा ब्रिटिश लगानी भित्र्याउन र द्विपक्षीय व्यापार वृद्धि गर्न अहिले उपयुक्त समय आएको बताए । गोर्खा सैनिक, लोकतन्त्रप्रतिको आस्था, कानूनको शासन र जनस्तरको गहिरो सम्बन्धले दुइ देशबीचको सम्बन्ध विशिष्ट रहेको उनले बताए। नेपाल र युकेबीच दोहोरो कर उन्मुक्ति सम्बन्धी सम्झौता गर्ने तयारी भै रहेको पनि उनले जनाए।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल सरकारले ऊर्जा, सूचना तथा सञ्चार प्रविधि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउंदै नेपालले सूचना प्रविधिमा १०० प्रतिशत प्रत्यक्ष विदेशी लगानी गर्न अनुमति दिएको, सात वर्षसम्म कर छुट, र मुनाफा फिर्ता लैजान सक्ने सुविधा दिएको बताए। उनले सातै प्रदेशमा आईटी पार्क निर्माण र प्रधानमन्त्रीको अध्यक्षतामा आईटी प्रवर्द्धन बोर्ड स्थापना गर्ने योजना रहेको समेत सुनाए।
डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले कृत्रिम बुद्धिमत्ता र डेटा सेन्टरमार्फत नेपालको उत्पादनशीलता बढाउने अपार सम्भावना रहेको जनाए। उनले नेपालको हिमाली भेगको चिसो मौसम, स्वच्छ ऊर्जा र डिजिटल जनशक्तिलाई विश्वस्तरीय डेटा सेन्टरहरू निर्माण गर्न सकिने जनाए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको निजी क्षेत्र नवप्रवर्तन तथा रूपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न तयार रहेको बताउंदै आगामी १० वर्षसम्म नीतिहरूमा स्थिरता कायम गर्नु पर्ने बताए । उनले नेपालको सन्दर्भमा सूचना प्रविधि, डिजिटल सेवा जस्ता उदाउँदो क्षेत्रको रहेता पनि डिजिटल र सेवा क्षेत्रमा नेपालले विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएको बताए । “हामी संयुक्त लगानी उद्यम, ई-शासन र अन्य साझेदारीका लागि खुला छौं। डिजिटल भविष्य निर्माणमा हामी तपाईंलाई सहकार्य गर्न आमन्त्रण गर्छौ,” उनले भने ।
बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी कम्पनी, जेनेस सलुशन, का प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालको युवा जनशक्तिले विश्व बजारमा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै बेलायतका कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे।
नेपालका सूचना प्रविधि सम्बन्धी कम्पनीहरुको प्रतिनिधि संस्था, नास आइटी, का अध्यक्ष सन्तोष कोइरालाले अहिले करिब ९०,००० युवा सूचना प्रविधि क्षेत्रमा कार्यरत रहेको बताए। “अहिले हाम्रो कुल निर्यातको ७५ प्रतिशतभन्दा बढी अमेरिका जान्छ। अबको ४–५ वर्षमा हामी ब्रिटेनमा पनि बजार विस्तार गर्न चाहन्छौं।”
बेलायतमा कार्यरत उद्यमी उका वियरकी सीईओ तथा सह-संस्थापक रुबी राउत, प्रविधि क्षेत्रमा महिलाहरु लाई अगाडी बढाउन आवश्यक रहेको बताइन्। उनले साना तथा मझौला उद्यमीहरुलाई अल्पकालीन प्रशिक्षण तथा मेन्टरिङ्ग आवश्यक रहेको बताइन्।
आईएमई ग्रुपका सह-संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले नेपाल डिजिटल रूपान्तरणका लागि तयार रहेको बताए। त्यस्तै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजालले नेपाल तथा युकेबीच व्यापार तथा लगानी बढाउन थुप्रै सम्भावना रहेको बताए।
कार्यक्रममा युकेमा मुख्यालय रहेका प्राइभेट इक्विटी, फिनटेक, एआइ, क्लाउड, साइबर सुरक्षा, एजु-टेक, हेल्थ-टेक लगायतका क्षेत्रका प्रतिनिधिहरू सहभागी भएको दूतावासले जनाएको छ ।