लन्डन । आईएमई ग्रुपका सह-संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले नेपाल डिजिटल रूपान्तरणको युगमा अघि बढ्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।
लन्डनमा आयोजित एक कार्यक्रममा उनले नेपालमा लगानीको अपार सम्भावना रहेको चर्चा गर्दै आईएमई ग्रुपले गरेका लगानीहरूबारे विस्तृत जानकारी दिए। उनले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्दै भने, “हामी डिजिटल भविष्यको निर्माणमा सहकार्य गर्न तत्पर छौं।”
कार्यक्रममा ब्रिटिश संसदको ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप’ (APPG) फर नेपाल की अध्यक्ष सांसद एलेक्स बेकरले काठमाडौं–लन्डन सिधा हवाई सेवा सुरु गर्न अत्यन्त जरुरी भएको बताइन्।
नेपालका लागि बेलायतका राजदूत रब फेनले ब्रिटिश लगानी भित्र्याउन र द्विपक्षीय व्यापार वृद्धिका लागि अहिले उत्कृष्ट समय रहेको बताए। गोर्खा सैनिक, लोकतन्त्रप्रतिको आस्था, कानूनी शासन र जनस्तरको सम्बन्धले नेपाल–बेलायत सम्बन्ध विशेष रहेको उल्लेख गर्दै उनले दोहोरो कर उन्मुक्ति सम्झौता गर्ने तयारी भइरहेको जानकारी दिए।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल ऊर्जा निर्यात गर्ने देश बनिसकेको र सूचना प्रविधि क्षेत्र निकै चलायमान भएको बताए। उनले बेलायती कम्पनीलाई नेपालमा आईटी सेवा आउटसोर्सिङ गर्न आह्वान गर्दै नेपाललाई व्यापार र लगानीको उत्कृष्ट गन्तव्यको रूपमा प्रस्तुत गरे।
नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले सरकार ऊर्जा, सूचना–सञ्चार प्रविधि र पूर्वाधारलाई प्राथमिकता दिइरहेको बताए। उनले आईटी क्षेत्रमा १०० प्रतिशत प्रत्यक्ष विदेशी लगानीको अनुमति, सात वर्षसम्मको कर छुट र मुनाफा फिर्ता लैजान सकिने सुविधा लगायतका प्रोत्साहनबारे जानकारी दिए। साथै, सातै प्रदेशमा आईटी पार्क बनाउने र प्रधानमन्त्रीकै अध्यक्षतामा आईटी प्रवर्द्धन बोर्ड स्थापना गर्ने योजना सुनाए।
डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले कृत्रिम बुद्धिमत्ता र डेटा सेन्टर प्रविधिबाट नेपालको उत्पादनशीलता वृद्धिको ठूलो सम्भावना रहेको बताए। नेपालको हिमाली चिसो मौसम, स्वच्छ ऊर्जा र दक्ष डिजिटल जनशक्तिले विश्वस्तरीय डेटा सेन्टर निर्माण गर्न सहज बनाउने उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्र नवप्रवर्तन र रूपान्तरणमा नेतृत्व गर्न तयार रहेको बताए। आगामी १० वर्षसम्म नीति–नियममा स्थिरता कायम राख्नुपर्नेमा उनले जोड दिए। “सूचना प्रविधि र डिजिटल सेवामा नेपालले विश्वस्तरीय प्रतिस्पर्धा गर्ने क्षमतासहित अगाडि बढिरहेको छ। हामी संयुक्त लगानी, ई–शासन र अन्य साझेदारीका लागि खुला छौं। डिजिटल भविष्य निर्माणमा तपाईंलाई सहकार्यको निम्तो दिन चाहन्छौं,” उनले भने।
बेलायतमा मुख्यालय रहेको आईटी कम्पनी जेनेस सोलुशन का प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालको युवा जनशक्तिले विश्व बजारमा उत्कृष्ट सेवा दिइरहेको बताए। उनले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे।
नास आइटी (नेपाल एशोसिएसन अफ सफ्टवेयर एण्ड आईटी) का अध्यक्ष सन्तोष कोइरालाले हाल करिब ९० हजार नेपाली युवा सूचना प्रविधि क्षेत्रमा कार्यरत रहेको बताए। “हाल हाम्रो कुल आईटी निर्यातको ७५ प्रतिशतभन्दा बढी अमेरिका जान्छ। अब ४–५ वर्षमा हामी बेलायतमा पनि बजार विस्तार गर्न चाहन्छौं,” उनले भने।
बेलायतमा कार्यरत उद्यमी, उका बीयर की सीईओ तथा सह-संस्थापक रुबी राउतले प्रविधिमा महिलाको सहभागिता आवश्यक रहेको बताइन्। उनले साना–मझौला उद्यमलाई अल्पकालीन तालिम र मेन्टरिङ जरुरी भएको बताइन्।
त्यस्तै, ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स का अध्यक्ष डा. कपिल रिजालले नेपाल–बेलायत व्यापार र लगानी बढाउन धेरै सम्भावना रहेको बताए।
कार्यक्रममा बेलायतमा आधारित प्राइभेट इक्विटी, फिनटेक, एआई, क्लाउड, साइबर सुरक्षा, एजु–टेक, हेल्थ–टेक लगायत क्षेत्रका प्रतिनिधिहरू सहभागी भएको नेपाली दूतावासले जनाएको छ।