काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेट आइतबार आउने भएको छ । आज (शुक्रबार) बसेको ४० औं कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले अर्को बैठक असार २९ गते दिउँसो २ बजे बस्ने जानकारी गराए ।
उनले बैठकका विभिन्न २४ एजेन्डा रहे पनि एउटामात्र एजेन्डा प्रस्तुत गरेका थिए । सोही एजेन्डाअन्तर्गत आइतबार लागि अर्को बैठक बोलाइएको हो। प्रमुख बालेनका अनुसार सोही दिन विहान ९ बजे कार्यपालिका बैठक बस्नेछ ।
बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनु भएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।