१० भाद्र २०८२, मंगलवार
Follow Us

स्कटल्याण्डमा कोमल ओलीको बेजोड प्रस्तुती, तीज गीतमा दर्शक मन्त्रमु्ग्ध

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०८२, मंगलवार ०८:२६

लण्डन । स्कटल्याण्डस्थित नेपाली समुदायले यस वर्षको महान हिन्दू पर्व हरितालिका तीज भव्य रूपमा मनाएको छ । फाइव नेपाली कम्यूनिटी र यूरोपियन नेपाली समाज स्कटल्याण्डको संयुक्त आयोजनामा सोमवार फाइवस्थित रोयल ब्रिटिश लेजेन्ट कम्यूनिटी हलमा तीज विशेष कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको मुख्य आकर्षण रहीन्, नेपाली लोक तथा दोहोरी क्षेत्रकी चर्चित गायिका कोमल ओली । उनले “बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा” गीतबाट प्रस्तुतीको शुरुवात गर्दै हलमा उपस्थित सयौँ दर्शकलाई झुमाइन् ।

विशेषगरी उनको लोकप्रिय तीज गीत “पोइल जान पाम शिव” को प्रस्तुतीमा दर्शकहरूले उत्साहपूर्वक साथ दिए । त्यसपछि उनले “आउ दिदि बहिनी”, “सुनिदेउ शिव”, “लास्टै चोटी हो”, “म त नाच्दिन केरे”, “हल्ला भो शिवजी” लगायत चर्चित तीज गीतहरू प्रस्तुत गरिन् । उनका गीतमा देखिने महिला भावनाको कथा, परिवार–समाजको सन्देश र संस्कृतिको संरक्षण दर्शकले उच्च मूल्याङ्कन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू पूर्व सांसद भएको उल्लेख गर्दै भविष्यमा पनि राष्ट्रिय राजनीतिमा सक्रिय रहने संकेत दिइन् । र। आफु भावि सांसद भएको दावी गरिन् । उनले आफ्नो गीतसंगीतबाट हुने आम्दानीको केही हिस्सा दाङमा सञ्चालन भइरहेको एम्बुलेन्स सेवामा सहयोग गर्ने घोषणा गरिन् । विगत दुई सातादेखि बेलायतका विभिन्न सहरहरूमा निरन्तर प्रस्तुती दिँदै आएकी ओलीको स्कटल्याण्ड शो ‘बेजोड र स्मरणीय’ बनेको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।

सो अवसरमा फाइव नेपाली कम्यूनिटीका अध्यक्ष जेपी सापकोटाको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । गैरआवासीय नेपाली संघ यूकेका महासचिव दिवाकर पाण्डेले सञ्चालन गरेको कार्यक्रममा चर्चित कथावाचक कुबेर सुवेदीले तीज पर्वको धार्मिक–सांस्कृतिक महत्वबारे कथा प्रस्तुत गरे ।

स्थानिय महिला कलाकारहरूको समूहले पनि तीज गीत प्रस्तुत गर्दा वातावरण झनै रमाइलो बनेको थियो । नेपाली समुदायको बाक्लो सहभागिता रहेको यस कार्यक्रममा तीज केवल पर्वको उत्सव नभई संस्कृति, भावनात्मक सम्बन्ध र समुदाय एकताको प्रतिबिम्ब बनेको देखियो ।

 

धेरै पढिएको