२८ असार २०८२, शनिबार
Follow Us

मन्त्री हेरफेर साउनको दोस्रो साता मात्रै

नेपालब्रिटेन संवाददाता
२८ असार २०८२, शनिबार १५:०५

काठमाडौं । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सात महिनाअघि मन्त्री र सचिवहरूलाई सिंहदरबारमा बोलाएर कार्यक्षमता प्रभावकारी नभए मन्त्री फेर्नुपर्ने चेतावनी दिएका थिए ।

तर, त्यसयता शिक्षा मन्त्री विद्या भट्टराईबाहेक अरू मन्त्रीमा कुनै फेरबदल भएको छैन । एमाले नेता रघुजी पन्तले वैशाख १० गते शिक्षामन्त्रीको जिम्मेवारी लिएका थिए । उता, कांग्रेसका पूर्णबहादुर तामाङ राज्यमन्त्रीबाट फिर्ता बोलाइएका थिए ।

अब ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकाल सकिन दुई–तीन दिन मात्र बाँकी छ। यससँगै केही मन्त्री परिवर्तन हुने सम्भावना बढेको छ । एमालेभित्रै पनि सरकारको प्रभावकारिता कमजोर भएको आवाज उठ्न थालेको छ ।

तर, पार्टी भित्रै यो विषयमा औपचारिक छलफल भइनसकेको स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिएका छन । भूमि व्यवस्था मन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, संघीय मामिला मन्त्री राजकुमार गुप्ता र पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको कार्यसम्पादन कमजोर ठहरिएको बालुवाटार स्रोतको दाबी छ ।

मन्त्री गुप्ताविरुद्ध अख्तियारमा मुद्दा समेत दर्ता भइसकेको छ । प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले नतिजा देखाउन नसक्ने मन्त्रीहरू फेर्नु उपयुक्त हुने तर्क गर्छन । साउनको पहिलो साता एमालेको बैठक हुने भएकाले त्यसपछि मन्त्री हेरफेरको निर्णय आउन सक्ने सम्भावना उच्च रहेको स्रोतको दाबी छ ।

धेरै पढिएको