लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नेतृत्वको दौडमा नयाँ ट्वीस्ट आएको छ। स्कटल्याण्डबासी नेपालीहरूले साझा उम्मेदवारका रूपमा कासीराम भण्डारीलाई अघि सारेपछि चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।
एनआरएनए यूकेको आगामी २६ जुनमा हुने अनलाइन मतदानका लागि यसअघि राजेन्द्र पुडासैनी, गोविन्द खरेल र मनिष खत्रीले उम्मेदवारी घोषणा गरिसकेका छन्। तर उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा स्कटल्याण्डका नेपाली समुदायले सहमतिमा भण्डारीलाई अघि सारेर नयाँ मोड दिएका हुन्।
भण्डारीले नेपालब्रिटेन डटकमसँग कुरा गर्दै स्कटल्याण्डबासीको चाहना र सहमतिका आधारमा आफू आइतवार उम्मेदवारी दर्ता गर्ने निर्णयमा पुगेको बताए। उनले आफ्नो औपचारिक प्रतिबद्धता उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने बताएका छन्।
स्कटल्याण्डमा यस विषयमा भएको सहमतिअनुसार, अध्यक्ष पदका आकांक्षी शेर केसी र रामप्रसाद कंडेलबीच आपसी समझदारी बनेको छ। कंडेलले आफ्नो उम्मेदवारी फिर्ता लिँदै शेर केसीलाई स्कटल्याण्ड राज्य समन्वय समिति अध्यक्ष पदका लागि समर्थन गर्ने भएका छन्। बदलामा शेर केसीले रामप्रसाद कंडेललाई यूके एनएनसी उपाध्यक्ष पदमा समर्थन जनाउने सहमति भएको छ।
दुवै नेताहरूको सहमतिपछि स्कटल्याण्डमा एकताबद्ध समिति गठन गर्ने निर्णय पनि गरिएको छ। यसले स्थानीय नेपाली समुदायलाई थप एकजुट बनाउने र नवगठित समितिमा सबैको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
शेर केसीले यो सहमतिलाई “नेपाली समुदायको हितमा ऐतिहासिक निर्णय” भन्दै सबैलाई एकतामा जुट्न आग्रह गरे। उनले भने, “यो समझदारीले हाम्रो संघर्षलाई नयाँ ऊर्जा दिनेछ।”
त्यस्तै, रामप्रसाद कंडेलले पनि यस सहकार्यलाई दीर्घकालीन रणनीतिको रूपमा वर्णन गर्दै भने, “एकताबद्ध समितिबाट हामी स्कटल्याण्ड र यूकेमा नेपालीहरूको आवाजलाई अझ बलियो बनाउनेछौं।”
कासीराम भण्डारीले स्कटल्याण्डबासी नेपाली समुदायबीच भएको सहमतिलाई सकारात्मक रूपमा स्वागत गर्दै आफू उत्साहित रहेको बताए। उनले सबैलाई एकढिक्का भएर इतिहास लेख्न आह्वान गरे।
को हुन कासीराम भण्डारी