रमेश खनाल ।कोभेन्ट्रि ।विदेशी भूमिमा नेपालीपन जगेर्ना गर्ने उद्देश्यले कोभेन्ट्रि नेपाली समाजले एक महत्वपूर्ण पहल गरेको छ। युकेको कोभेन्ट्रिमा समाजले निरन्तर नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको छ, जसले यहाँका नेपाली बालबालिकालाई आफ्नो मातृभाषा, संस्कार र संस्कृतिसँग जोड्ने प्रयास गरेको छ।
कोभेन्ट्रिमा बसोबास गर्ने करिब ५० भन्दा बढी नेपाली बालबालिकाले यस कक्षाबाट प्रत्यक्ष लाभ लिइरहेका छन्। नेपाली अक्षर चिन्न, नेपाली भाषामा संवाद गर्न, र नेपाली संस्कार तथा संस्कृति प्रतिको रुचि विकास गर्नु यस कक्षाको प्रमुख उपलब्धि मानिन्छ।
समाजका अध्यक्ष सन्तोष रेग्मीले भने, “हामीले विदेशमा हुर्किरहेका बालबालिकामा नेपालीपन हराउँदै गएको देखेका छौं। त्यसैले यो भाषा सिकाउने अभियानलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौं।”
शिक्षिका ज्ञानु दाहालले बालबालिकालाई रमाइलो र सरल शैलीमा पढाउने विशेष तरिका अपनाएकी छन्। उनले कक्षालाई नियमित शैक्षिक पाठ्यक्रमसँगै लोककथा, गीत, खेल र कला गतिविधिसँग जोडेर सिकाउने अभ्यास गर्दै आएकी छन्। उनले भनिन्, “बालबालिकाले रमाइलो गतिविधिबाट भाषा सिक्न सजिलो ठान्छन्। अबका कक्षा अझ रोचक, फरक र सहभागितामूलक बनाउने योजना छ।”
ब्लुकोर्ट क्याथोलिक स्कुलमा पढाउने शिक्षिका दाहालले समय छुट्याएर मातृभाषा सिकाउनुले नेपालप्रतिको माया र समर्पण झल्किन्छ।
यस कार्यक्रमले नेपाली भाषा मात्र होइन, भावी पुस्तामा नेपाली पहिचानको जग बसाल्ने महत्त्वपूर्ण भूमिका खेलेको छ। अभिभावकहरु पनि खुसी छन्, किनकि उनीहरूले आफ्ना छोराछोरीलाई नेपाली अक्षर पढ्न, लेख्न र संस्कार सिक्न पाएका छन्।
कोभेन्ट्रि नेपाली समाजले भाषा कक्षाका साथै नेपाली संस्कृति, चाडपर्व, नाचगान प्रतियोगिता लगायत विविध गतिविधिहरू पनि सञ्चालन गर्दै आएको छ।