लन्डन । लिभरपुलस्थित एक भूपू गोर्खा देउमान इजमले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
गैरआवासीय नेपाली संघ यूकेको आइतवार सम्पन्न मनोनयन दर्ता प्रक्रियामा सहभागी हुँदै इजमले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। उनी गैरआवासीय नेपाली संघ इंग्ल्याण्ड राज्य परिषद्का उपाध्यक्ष समेत हुन्।
नेपालको ताप्लेजुङ घर भएका इजम सन् २००७ देखि एनआरएनएको अभियानमा सक्रिय छन्। लिभरपुल नेपाली समाजको अध्यक्ष भई चार वर्ष कार्यकाल पूरा गरेका उनले कोरोना महामारीको समयमा अप्ठ्यारोमा परेका सयौं नेपाली विद्यार्थीलाई सहयोग जुटाएर उल्लेख्य योगदान गरेका थिए।
सन् २००६ देखि बेलायतमा बस्दै आएका इजमले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न बेलायतवासी नेपाली समुदायलाई अनुरोध गरेका छन्।
गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन आगामी २६ जुलाईमा अनलाइन माध्यमबाट हुने तय भएको छ।