२९ असार २०८२, आईतवार
Follow Us

रास्वपाद्वारा ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनीत

नेपालब्रिटेन संवाददाता
२९ असार २०८२, आईतवार १४:१०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन जना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ।

आइतबार नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो ।

मनोनयनपछि विभाग प्रमुख ई. श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो देखेर सचिवत्रयलाई विज्ञ सल्लाहकारमा चयन गरिएको बताए ।

उनले भने, ‘नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत हो, त्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरुरी छ ।’

नियुक्त हुनुभएका तीनैजना विज्ञ सल्लाहकारहरू विगतमा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् ।

प्राविधिक ज्ञान, प्रशासनिक अनुभव र नीति(निर्माणको अभ्यासलाई राजनीतिक नेतृत्वसँग जोड्न विज्ञ सल्लाहकारमा मनोनीत गरिएको विभाग प्रमुख न्यौपानेले बताए ।

विभाग प्रमुख ई। न्यौपानेको सिफारिसमा पार्टीले विज्ञ सल्लाहकार मनोनयन गरेको हो ।

धेरै पढिएको