काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा आइतबार साँझ मधेश प्रदेशका मन्त्रीको छोराले चलाएको कारको ठक्करबाट स्कुटी चालक गम्भीर घाइते भएका छन् ।
जलेश्वरबाट भिट्टामोडतर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ गइरहेको कारले ठक्कर दिँदा स्कुटी चालक श्यामकुमार शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।
उनलाई ललितपुरको बीएन्डबी अस्पतालमा उपचारका लागि पठाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा डीएसपी शैलेन्द्र कुमार खड्काका अनुसार बा१५च ५२३३ नम्बरको कारले प्रदेश २–००–००२ प ८८५० नम्बरको स्कुटीलाई ठक्कर दिएको हो । कार चालक सुमित शर्मासमेत सामान्य घाइते भएका छन् ।
कार चालक शर्मा मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीको छोरा हुन् । मन्त्री तिवारीले छोरा–बुहारी कारमा गइरहेको अवस्थामा अचानक छोरा बेहोस हुँदा अनियन्त्रित भएको कारले स्कुटीलाई ठक्कर दिन पुगेको बताएकी छन् । दुर्घटनामा आफ्नो छोरासमेत घाइते भएको उनको भनाइ छ ।
सुमितको भने जनकपुरमै उपचार भइरहेको जनाइएको छ । डीएसपी खड्काले दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिएका छन ।