लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका चार मध्ये तीन जना उम्मेदवारबीच सहमति जुटेको छ।
गैरआवासीय नेपाली संघ यूकेका महासचिव तथा अध्यक्ष पदका प्रत्यासी गोविन्द खरेलका अनुसार मनिष खत्री, काशीराम भण्डारी र खरेलबीच अन्ततः एक मात्र साझा उम्मेदवार उठाउने सहमति भएको हो।
“केही अन्तरविरोध थिए। ती समेटेर अगाडि बढ्न हामीले छलफल गरेका थियौं। आज हामीबीच सहमति भएको छ। अब एक जना मात्र उम्मेदवार बन्ने निर्णय भएको छ,” खरेलले नेपालब्रिटेन डट कमसँग भने।
उनका अनुसार तीन जनामध्ये को उम्मेदवार हुने भन्ने विषय चाँडै टुंगोमा पुग्नेछ। “स्कटल्याण्डमा धेरै सदस्यहरू हुनुहुन्छ। त्यहाँको भावना कसरी समेट्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ। हामी एक भएर जानेछौं,” खरेलले बताए।
यसअघि आजै निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। अध्यक्ष पदका अर्का उम्मेदवार राजेन्द्र पुडासैनी पनि छन्। निर्वाचन समितिले आगामी जुलाई १५ का दिन साँझ ५ बजेसम्म उम्मेदवारहरूमाथि दावी–विरोध पेश गर्न सूचना जारी गरेको छ। उम्मेदवारहरूको अन्तिम नामावली बुधबार प्रकाशित हुने निर्वाचन समितिले जनाएको छ।