१ श्रावण २०८२, बिहीबार
Follow Us

वैदेशिक यात्रामा बाहिरियो दुई खर्ब

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०८२, बिहीबार ०४:१८

काठमाडौं । विदेश यात्राका लागि नेपालीले ११ महिनामा मात्रै दुई खर्ब रुपियाँ खर्चिएका छन् । शिक्षा, रोजगारी तथा घुमघाम जस्ता उद्देश्यका लागि हुने यस्तो खर्च अहिलेसम्मकै सर्वाधिक हो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना अर्थात् जेठसम्म शैक्षिक यात्राका लागि सबैभन्दा बढी रकम बाहिरिएको छ । सो अवधिमा एक खर्ब २४ अर्ब ७९ करोड रुपियाँ शैक्षिक यात्राका लागि बाहिरिएको छ ।

अध्ययनका लागि बाहिरिने नेपाली विद्यार्थीले यात्रा उद्देश्यका लागि गर्ने खर्च यस्तो शीर्षकका समेटिन्छ । गत आवको सोही अवधिमा शैक्षिक यात्राका लागि एक खर्ब ११ अर्ब ४६ करोड रुपियाँ बाहिरिएको केन्द्रीय बैङ्कको तथ्याङ्क छ ।

त्यस्तै घुमघाम, वैदेशिक रोजगारीको उद्देश्यसहितको यात्राका लागि ११ महिनामा नेपालीले ७४ अर्ब ७२ करोड खर्चिएको देखिन्छ । अन्य शीर्षकमा राखिएको यस्तो खर्च गत आवको सोही अवधिमा ५२ अर्ब ६८ करोड रुपियाँ थियो । त्यस्तै उपचारका लागि बाहिरिने नेपालीले ४७ करोड रुपियाँ वैदेशिक यात्रामा खर्चिएको तथ्याङ्कले देखाउँछ जबकि गत आवमा यस्तो दुई अर्ब ५८ करोड रुपियाँ थियो ।

भित्रिने पनि बढ्यो
नेपालीले वैदेशिक यात्रामा खर्चिएको रकम मात्र बढेको छैन यात्राकै लागि नेपाल भित्रिने रकम पनि बढेको छ । ११ महिनासम्म यात्रा शीर्षकमा नेपालमा ८२ अर्ब रुपियाँ भित्रिएको छ जुन गत आवको सोही अवधिको तुलनामा साढे छ अर्ब रुपियाँले बढी हो ।

गत आवको जेठसम्म ७५ अर्ब ५२ करोड रुपियाँ यात्रा शीर्षकमा नेपाल भित्रिएको थियो । जसमध्ये विदेशी पर्यटक नेपाल भित्रिएबापत ७७ अर्ब ९६ करोड रुपियाँ भित्रिएको देखिन्छ । समीक्षा अवधिमा १० लाख ७८ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

शैक्षिक प्रयोजनको यात्राबापत तीन अर्ब ७० करोड रुपियाँ भित्रिँदा उपचारको उद्देश्यका लागि नेपाल आउनेले ३५ करोड रुपियाँ खर्च गरेको तथ्याङ्कले देखाउँछ ।

धेरै पढिएको