३ श्रावण २०८२, शनिबार
Follow Us

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अहिलेसम्मकै उच्च

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८२, शनिबार १५:५६

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड बनेको हो ।

विभागले शुक्रबार पत्रकार सम्मेलन मार्फत गत आर्थिक वर्षमा ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएकोमा ७ लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएको जानकारी गराएको हो ।

नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन रहेका छन् । गएको आर्थिक वर्षमा प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन २ हजार ३ सय जनाले स्वीकृति लिएको देखिएको छ ।

गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत रहेका छन् । श्रम स्वीकृति लिएकामा संस्थागत (वैदेशिक रोजगारी व्यवसायी कम्पनी) लिने ३ लाख ५९ हजार ६७५, पुनः श्रम स्वीकृति लिने ३ लाख ३३ हजार ३०९, व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने १ लाख ३३ हजार ६२७ र जिटुजी भएका देश दक्षिण कोरिया, इजरायल र बेलायतमा १२ हजार ६५३ जना छन् ।

विभागका अनुसार गत वर्ष सबैभन्दा बढी संयुक्त अबर इमिरेट्स (युएई) मा र साउदी अरब, कतार, कुवेत, ओमान, दक्षिण कोरिया, जापान र मलेसिया, बहराइनलगायत युरोप गरी ६९ देशमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न शुरु गरेको हो ।

धेरै पढिएको