लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न मतदान प्रक्रिया जारी रहेको छ।
शनिबार मध्यराति १२ बजेबाट अनलाइनमार्फत सुरु भएको मतदानमा उत्साहजनक सहभागिता रहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार बिहान ३ बजेसम्म ३१५ मत खसेका छन्। जसअनुसार इङ्ल्यान्डमा ११५, स्कटल्याण्डमा १९०, नर्दन आयरल्याण्डमा ७ र वेल्समा ४ जनाले मतदान गरेका छन्।
अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनी, गोविन्द खरेल र मनिष खत्री उम्मेदवार छन्। मुख्य प्रतिस्पर्धा पुडासैनी र खरेलबीच हुने अपेक्षा गरिएको छ। उपाध्यक्ष, महासचिव, सचिव लगायतका केही अन्य पदहरूमा पनि निर्वाचन हुँदैछ।
मतदान सुरु भएपछि पहिले तयार गरिएका प्यानलहरूको सूचीमा रणनीतिक रूपमा नाम हेरफेर गरिएको छ। खरेल र खत्रीले औपचारिक रूपमा प्यानल सार्वजनिक नगरेपछि आन्तरिक तालमेल गरिएको बताइएको छ।
निर्वाचन परिणाम शनिबार राति १० बजेपछि सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ।