काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता हुनुअघि घरमै सुँगुर काटेर खाएको खुलेको छ । बेपत्ता हायु परिवारले गत बिहीबार (८ साउन) मा घरमै सुँगुर काटेर खाएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन । उनले भने, ‘गाउँलेको भनाइअनुसार बिहीबार सुँगुर काटेर खाएको बुझिएको छ । त्यसपछि उनीहरू बेपत्ता भएको भन्ने छ ।’
एकन्तमा भएको उर्मिला हायुको १६ जनाको परिवार बेपत्ता भएकाले खोजी कार्य जारी रहेको पनि उनले जानकारी दिए । सोमबार बिहानदेखि स्थानीय बासिन्दा, स्थानीय प्रशासन (पालिका तथा वडा) र प्रहरीले खोजी सुरु गरेका छन् ।
गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार अहिले बेपत्ता भएको उर्मिला हायुको परिवारको घर एकलासमा भएकाले ढिलो गरेर थाहा पाइएको बताए । घर नजिकैको एक छाप्रोमा आगो लगेर निभाइएको जस्तो पनि देखिएको छ ।
काठहरू डढेका छन् । केही लुगाहरू झुन्डिएको देखिन्छ । पकाउने भाँडाहरू पनि घर बाहिरै देखिन्छ । तर जस्ताले छाएको हायुको घरमा भने कोही छैनन् ।
हायुको बसोबास रामेछापमा पनि बाक्लो रहेकाले अहिले रामेछापमा पनि खोजी सुरु गरिएको एसपी सुवेदीले जानकारी दिए । ‘रामेछापमा भएका कोही आफन्तकोमा गए कि भनेर बुझ्ने काम गरेका छौं । तर फेला पार्न सकिएको छैन,’ उनले भने ।