काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ छेन्दु जियान फुड कम्पनीलाई नेपालमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका-४ सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिएका हुन् । उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको उनले जानकारी दिए ।
‘गत मङ्सिरमा मेरो चीन भ्रमणमा भएको सम्झौताअनुसार छेन्दु जियान फुड कम्पनीले मारिण-४ मा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ । उद्योगले वार्षिक दुई लाख मेट्रिकटन मासु र ५५ हजार मेट्रिकटन सहायक उत्पादन (छाला, भित्री अङ्ग, टाउको) उत्पादन गर्नेछ’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्वपूर्ण हुनेछ ।’
प्रधानमन्त्री ओलीले छेन्दु जियान फुड कम्पनीले पाँच हजार १५६ जनालाई रोजगारी दिने र वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्ने बताए ।