१६ कार्तिक २०८२, आईतवार
Follow Us

नेपाल फुड्सका चिकन मःम र नेपाली बियरले जीते विश्वप्रसिद्ध ‘ग्रेट टेस्ट २०२५ अवार्ड’

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८२, बिहीबार ०९:३७

लन्डन । लण्डनस्थित ‘नेपाल फुड्स’ को उत्पादन चिकन मःम र नेपाली बियरले विश्वप्रसिद्ध ग्रेट टेस्ट २०२५ अवार्ड जितेको छ।

गिल्ड अफ फाइन फूडद्वारा आयोजित ग्रेट टेस्ट अवार्डमा विश्वभरका १४,३४० वटा उत्पादनबीच प्रतिस्पर्धा हुँदा ‘नेपाल फुड्स’ को चिकन मःम र नेपाली बियरले १-स्टार ग्रेट टेस्ट अवार्ड प्राप्त गरेको हो।

चिकन मःमको स्वादबारे एक निर्णायकले ‘नेपालमै खाएको मःमको सम्झना दिलाउने अत्यन्तै स्वादिष्ट’ रहेको प्रतिक्रिया दिए। नेपाली बियरलाई ‘हल्का तितो, स्वादिलो र माल्ट-लेड बियर’ भनेर प्रशंसा गरिएको थियो।

ग्रेट टेस्ट अवार्ड गिल्ड अफ फाइन फूडले सञ्चालन गर्ने विश्वकै सबैभन्दा ठूलो, पुरानो र भरपर्दो खाद्य र पेय पदार्थको पुरस्कार हो । यसले उत्कृष्ट स्वाद तथा परिकारलाई पहिलो प्राथमिकता दिन्छ। सबै प्रतियोगितात्मक वस्तुहरूलाई ब्लाइन्ड टेस्ट अर्थात् बिना नाम वा प्याकेजिङमा परीक्षण गरिन्छ।

सन् २०२५ मा ५०० भन्दा बढी निर्णायकले ११० दिनसम्मको मूल्याङ्कन प्रक्रियामा सहभागी भएर १-स्टार, २-स्टार र ३-स्टार अवार्ड प्रदान गरेका थिए। ग्रेट टेस्ट अवार्डले पुरष्कृत उत्पादनलाई तीन वर्षसम्म मान्यता दिन्छ र त्यो अवार्ड सम्बन्धित उत्पादनमा मात्र प्रयोग गर्न पाइन्छ।

उक्त अवार्ड प्राप्त गरेपछि नेपाल फुड्सका प्रमुख कार्यकारी विकास नेपालले भने, ‘हाम्रो चिकन मःम र नेपाली बियरले ग्रेट टेस्ट अवार्ड प्राप्त गर्नु नेपाली मौलिक स्वाद विश्वसामु चिनाउने महत्त्वपूर्ण अवसर पनि हो। यो हाम्रो मःमले पाएको दोस्रो अवार्ड हो। नेपालमा मःम दाल-भातपछि सबैभन्दा बढी खाइने खाना हो र यसले अन्तर्राष्ट्रिय मान्यता पाओस् भन्ने हाम्रो सपना थियो।’

‘सन् २०२४ अप्रिलबाट सुरु गरिएको हाम्रो नेपाली बियरले छोटो समयमा विभिन्न समुदायमा लोकप्रियता कमाएको छ। नेपाल फुड्सले उत्पादन गरिरहेको नेपाली बियर हाल युके, पोर्चुगल, जापानलगायत युरोपका विभिन्न देशमा उपलब्ध छ’, उनले भने ।

२०१८ मा बेलायतबाट सुरु गरिएको नेपाल फुड्सले नेपाली गुणस्तरीय उत्पादनहरुलाई विश्व बजारमा प्रवर्द्धन गर्दै आएको छ।

धेरै पढिएको