१६ श्रावण २०८२, शुक्रबार
Follow Us

स्पेनमा कांग्रेस नेता डा. महतलाई प्रश्न : “रवि जेल गएपछि कति सहकारी पीडितले न्याय पाए?”

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८२, बिहीबार २१:०४

रमेश खनाल ।नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले हिजो सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै जनताको अनुमोदनबिनै सत्ता नलिने पार्टीको अडान दोहोर्याए।

कार्यक्रममा रास्वपा स्पेनका प्रतिनिधि भोला लामिछानेले पूर्वगृहमन्त्री रवि लामिछानेसम्बन्धी विषयमा कडा प्रश्न उठाउँदै डा. महतलाई खुला चुनौती दिएका थिए। उनले भने, “विदेशको सुख-सुविधा त्यागेर देश बनाउन फर्किएको व्यक्तिलाई किन ४० डिग्रीको तातो जेलमा राख्नुपर्‍यो? रविलाई मात्र कानुन लाग्ने हो? सहकारीका पीडितहरूले न्याय पाएका छन् त?”

यी प्रश्नहरूको उत्तर दिँदै डा. महतले भने, “राजनीतिमा यस्ता उतारचढाव भइरहन्छन्। हामी पनि धेरैपटक जेल जाने–आउने गर्दै यहाँसम्म आएका हौं। बोल्न सजिलो छ, गर्न गाह्रो हुन्छ।”

उनले राजनीति सधैं सही दिशातर्फ जान्छ भन्न नसकिए पनि हाल नेपाल सही मार्गमा अघि बढिरहेको बताए। “नेपालमा केही नभएको होइन, केही भएको छ, तर अझ धेरै गर्न सकिन्थ्यो। तथापि हालसम्म भएको कुरामा पनि मेरो असन्तुष्टि छ,” उनले स्पष्ट गरे।

डा. महतले एनआरएनएको एकता आवश्यक रहेको उल्लेख गर्दै भने, “एनआरएनए एउटै थलोमा आबद्ध हुनु अहिलेको आवश्यकता हो।”

उनले गैरआवासीय नेपालीहरूको लागि नयाँ नागरिकता कानुन दुई महिनाभित्र आउन लागेको जानकारी दिए। उक्त कानुनले राजनीतिक अधिकारबाहेकका सबै सुविधा प्रदान गर्नेछ। साथै, दोहोरो नागरिकतासम्बन्धी कानुनी प्रक्रिया पनि अघि बढिरहेको जानकारी उनले दिए।

२०४६ सालको जनआन्दोलनले देशमा खुलापन ल्याएको स्मरण गर्दै डा. महतले भने, “त्यस आन्दोलनकै परिणामस्वरूप तपाईंहरू विदेश आउन सक्ने अवस्था बन्यो।”

रवि लामिछानेको सहकारी प्रकरणबारे बोल्दै उनले भने, “उहाँको विषय अदालतको क्षेत्राधिकारमा पर्छ, त्यसबारे निर्णय अदालतले नै गर्छ।”

NRNA स्पेनको नयाँ कार्यसमिति सर्वसम्मत चयन
महाधिवेशनबाट सर्वसम्मत रूपमा सन्तोष श्रेष्ठको अध्यक्षतामा एनआरएनए स्पेनको नयाँ कार्यसमिति चयन गरिएको छ।

कार्यक्रममा प्रमुख विशिष्ट अतिथिका रूपमा सहभागी स्पेनका लागि नेपाली राजदूत महामहिम सनिल नेपालले एनआरएनएको एकता र सक्रियताले नेपाली दूतावाससँगको सहकार्यलाई सहज बनाएको धारणा व्यक्त गरे।

धेरै पढिएको