२१ श्रावण २०८२, बुधबार
Follow Us

बत्तीको उज्यालोले मात्र देश उज्यालो नहुने रहेछ : कुलमान

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०८२, आईतवार १७:४८


नारायण भण्डारी ।

अस्टिन / टेक्सास ।

‘उज्यालो नेपाल’ अभियान लिएर हाल अमेरिकामा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली बत्तीको उज्यालोले मात्र देश उज्यालो नहुने स्पष्ट पारेका छन्। प्रवासमा रहेका नेपालीहरूसँग भेटघाट तथा संवादमा व्यस्त घिसिङ आइतबार टेक्सासको राजधानी अस्टिन आइपुगे।

मध्यपूर्वदेखि अमेरिका हुँदै युरोपसम्मका नेपालीहरूलाई समेट्ने भेटघाट कार्यक्रम अन्तर्गत अस्टिनमा ‘ग्रेटर अस्टिन चेम्बर अफ कमर्स’ द्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै घिसिङले आफू सक्रिय राजनीतिमा प्रवेश गर्ने संकेत गरे।

नेपालमा लामो समय लोडसेडिङको समस्या हटाएर लोकप्रियता कमाएका घिसिङले वर्तमान राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै देशमा अब विश्वासिलो नेतृत्वको आवश्यकता रहेको धारणा राखे।

‘उज्यालो नेपाल’ अभियानको उद्देश्य स्पष्ट पार्दै उनले यो स्वतन्त्र अभियानमा अमेरिकावासी नेपालीहरूको समर्थन अपेक्षा गरेका छन्। “यो स्वतन्त्र अभियान हो, जसले मुलुकमा राम्रो नेतृत्व जन्माउनेछ। यसमा सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु,” उनले भने।

बिजुलीको उज्यालो मात्रले देश प्रगति नहुने भन्दै उनले देशका प्रत्येक क्षेत्रमा प्रकाश फैलाउने अभियान रहेको उल्लेख गरे।

प्रवासमा रहेका नेपालीहरूको नागरिकता, लगानी, र अन्य गुनासालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले प्रश्न गरे, “जब नेपाली नै नेपालमा लगानी गर्न हिच्किचाउँछन् भने विदेशी कसरी लगानी गर्ने?” उनले भारत र चीनले प्रवासी नागरिकको सीप र विज्ञताबाट लाभ उठाएको उदाहरण पनि प्रस्तुत गरे।

“तपाईंहरूबाट देशले ठूलो अपेक्षा राखेको छ। तपाईंहरूको आवाजलाई प्रतिनिधित्व गर्दै मुलुक निर्माणमा सहयोग गर्ने मेरो प्रतिबद्धता हो,” उनले जोड दिए। “प्रवासमा बसे पनि नेपाली नै भएर बसौँ,” उनले आग्रह गरे।

हालको कुनै पनि राजनीतिक दलप्रति आफ्नो झुकाव नरहेको प्रस्ट पार्दै उनले आफ्नो अभियानले नयाँ नेतृत्व जन्माउने विश्वास व्यक्त गरे। उनले घुमाउरो तरिकाले २०८४ साल अगावै राजनीतिमा प्रवेश गर्ने संकेत समेत गरे।

जनताप्रति देखाएको इमानदारीमा आफूलाई गर्व लागेको बताउँदै उनले भने, “मलाई वर्खास्त गरिएकोमा कुनै गुनासो छैन। जनताले दिएको माया नै मेरो मूल्याङ्कन हो।”

कार्यक्रम ग्रेटर अस्टिन कमर्सका अध्यक्ष सिपी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा घिसिङलाई टेक्सासको प्रसिद्ध टोपी र मायाको चिनो प्रदान गरिएको थियो।

धेरै पढिएको