२१ श्रावण २०८२, बुधबार
Follow Us

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०८२, बुधबार ०२:५७

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार इन्डियन आर्मी फुटबल टिमसँग १–० ले पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो ।

इन्डियन आर्मीको जीतमा क्रिस्टोले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्रिभुवन आर्मी पहिलो हाफबाटै १० खेलाडीमा सीमित भएको थियो । आर्मीका गोल रक्षक विकेश कुथु २९औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए । समूह ‘सी’ मा आर्मीले ३ मध्ये २ मा हार र अर्कोमा बराबरी खेलेको थियो । पहिलो खेलमा जमशेदपुर फुटबल क्लबसँग ३–२ ले पराजित भएको आर्मीले दोस्रो खेलमा लद्दाख फुटबल क्लबसँग १–१ को बराबरी खेलेको थियो ।

इन्डियन आर्मीको दोस्रो खेलमा यो पहिलो जीत हो । इन्डियन आर्मीले पहिलो खेलमा जमशेदपुरसँग हार बेहोरेको थियो । ३ अङ्कका साथ इन्डियन आर्मी समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ । त्रिभुवन आर्मी क्लबले ३ खेलमा १ अङ्कका साथ प्रतियोगिता अन्त्य गरेको छ ।

२ खेलमा शतप्रतिशत जीतको नतिजाका साथ जमशेदपुर समूहको शीर्ष स्थानमा छ । २४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

धेरै पढिएको