२१ श्रावण २०८२, बुधबार
Follow Us

हनुमानढोकामा रहेको प्रहरीको पुरानो भवन भत्काइने

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०८२, बुधबार ११:०७

काठमाडौं । २०७२ सालको भूकम्प अघि जिल्ला प्रहरी परिसर, काठमाण्डू बस्दै आएको हनुमानढोकाको भवन भत्काइने भएको छ । भूकम्पले जिर्ण भएको उक्त भवनमा रातो स्टिकर लगाइएको थियो ।

काठमाण्डू महानगरका मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाबीच भएको भेटपछि भवन भत्काउने निर्णय भएको महानगर स्रोतले जानकारी दिएको छ ।

मेयर शाहको सचिवालयका अनुसार, ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी समेत उपस्थित छलफलको मुख्य एजेन्डा हनुमानढोका क्षेत्रमा रहेको नेपाल प्रहरीको पुरानो भवन थियो । त्यसक्रममा २ रोपनी क्षेत्रमा रहेको त्यो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

त्यसक्रममा उक्त स्थानमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय भएको छ । यस्तै बैठकमा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको जग्गामा ट्राफिक टावर र आवश्यक भवन निर्माण गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

यसका लागि लेआउट तयार गर्न नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई जिम्मेवारी दिइएको छ । बैठकमा काठमाण्डू महानगर–२७ को कार्यालय हाल भोटाहिटीमा रहेको साइबर ब्युरोको भवनमा सार्न सकिने विषयमा समेत छलफल भएको छ ।

अहिले साइबर ब्युरोको नयाँ भवन सामाखुसीमा निर्माण भइरहेको छ र निर्माण सम्पन्न भएपछि वडा कार्यालय हाल ब्युरो रहेको भवनमा स्थानान्तरण गरिने विषयमा समेत छलफल भएको थियो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त जग्गा खोज्ने र भवन बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको महानगरले जनाएको छ ।

धेरै पढिएको