काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी भएको एक नेताले जानकारी दिएका छन ।
भेटमा सहभागी एक नेताका अनुसार सरकारको काम प्रभावकारी नभएकाले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरू बदलेर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले बैठकमा गरेका थिए । ‘केही मन्त्रीको कार्यसम्पादन राम्रो भएन ।
केही मन्त्रीहरू विवादित पनि भएका छन्,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘सरकार गठन भएको एक वर्ष पुगिसक्यो । नयाँ मन्त्री बनाऊँ पुरानालाई बिदा गरौँ ।’
ओलीको प्रस्तावमा देउवाले भने पार्टीभित्र समीकरण मिलाउन गाह्रो हुने बताएका थिए । ‘मैले पार्टीमा बल्ल बल्ल मिलाएको थिए । त्यही पनि विवाद भयो,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले मन्त्री बदलेर फेरि विवाद किन निम्त्याउनु । तपाईंले बदल्नुस् हाम्रालाई छोडिदिनुस् ।’ एमालेले सरकार गठन भएपछि दुई मन्त्री परिवर्तन गरिसकेको छ ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराई र संघीय मामिला तथा सामान्य प्रशासनन्त्री राजकुमार गुप्तालाई परिवर्तन गरिसकेको छ । भट्टराईका स्थानमा रघुजी पन्त र गुप्ताका स्थानमा भगवती न्यौपाने मन्त्री बनेका छन् । कांग्रेसले भने अहिलेसम्म कुनै मन्त्रीलाई चलाएको छैन ।