२६ श्रावण २०८२, सोमबार
Follow Us

महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धकसहित चार कर्मचारी पक्राउ

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०८२, सोमबार ०५:३७

काठमाडौँ । ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका-९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् । सो बैंकले दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार उनीहरूमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

चारै कर्मचारीको मिलेमतोमा उक्त शाखाको रु. दुई करोड ८४ लाख ७६ हजार सात सय अपचलन भएको पाइएको थियो । उक्त रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो ।

बैंकले गरेको प्रारम्भिक अनुसन्धानबाट बैंकका कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो । चारै जनाको मिलेमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरूलाई निलम्बन गरेको छ ।

उनीहरूले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको पाइएको छ । यसरी बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चारै कर्मचारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ । उक्त बैंकको कामकाज आजदेखि निरन्तर रूपमा चलेको शाखा प्रबन्धक जोशीले जानकारी दिए ।

धेरै पढिएको