एम्स्टरड्याम – हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता दिंदा मुलुकलाई धेरै लाभ हुने बताएका छन्।
एनआरएनए द नेदरल्यान्ड्सद्वारा मंगलबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले नेपालको संविधान २०७२ ले एनआरएन नागरिकताको व्यवस्था गरेकाले अब तत्काल आवश्यक कानून बनाएर त्यसको कार्यान्वयन गर्नु पर्ने बताए।
“जल, जंगल र जमीन मात्रै हाम्रा श्रोत हैनन्, संसार भरि फैलिएका नेपाली पनि हाम्रा श्रोत हुन्। नेपालको विकासका लागि डायस्पोराको सहयोग र सहभागिता अनिवार्य छ,” उनले भने।
गैरआवासीय नेपालीहरुलाई आन्तरिक विवाद समाधान गरेर एकताबद्ध भएर सामूहिक रूपमा देशको समृद्धिमालागि पर्न पनि उनले आग्रह गरे।
उनले सही नीति बनाएर गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता दिंदा मुलुकलाई धेरै लाभ हुने पनि बताए। नेपालको विकासलागि मेरिटोक्रेसीमा जोड दिनु पर्ने बताए ।
देश र जनताको लागि जिम्मेवारीपूर्वक काम गर्दा गर्दै पनि सरकारले बर्खास्त गरे पछि बहराइनबाट गत महिना आफुले उज्यालो नेपाल अभियान सुरु गरेको घिसिङले बताए।
“नेपालमा नकारात्मकता छाएको छ, सबै जसोले नकारात्मक कुरा मात्र गर्नाले पनि देशक़ो युवा जनशक्ति देशबाट पलायन भएको अवस्था छ, उज्यालो नेपालक़ो एउटा उद्देश्य सकारात्मकता फैलाउनु र मुलुकमा उपलब्ध अवसरहरु उजागर गर्नु पनि हो ,” उनले भने।
नेपालमा ऊर्जा सम्बद्ध अवसरहरु जस्तै जलविद्युत, सौर्य ऊर्जा, चार्जिंग स्टेशन, डेटा सेन्टर आदिमा लगानी गर्न पनि उनले आग्रह गरे।
“अब ‘प्याच वर्क’ मा मात्र सुधार गरेर मुलुकक़ो रुपान्तरण हुँदैन I अब मूल राजनैतिक नेतृत्वमा नै सही परिवर्तन आउनु जरुरी छ I आफ्नो यो लामो ज्ञान, सिप र अनुभवलाई देशक़ो रुपान्तरण गर्ने काममा उपयोग गर्न म प्रतिबद्ध छु, उनले भने।
उनले प्रवासमा रहेका नेपालीहरुलाई डिजिटल माध्यमबाट उज्यालो नेपाल अभियानमा जोडिन पनि आह्वान गरे I
कार्यक्रमक़ो अध्यक्षता गरिरहेका एनआरएनए नेदरल्यान्ड्सका अध्यक्ष बिष्णु प्रसाद पोखरेलले घिसिङलाई स्वागत गर्दै नेपाललाई लोडशेडिंगबाट मुक्त गरेर विद्युत निर्यात गर्ने अवस्थासम्म पु याउन उनले गरेको योगदानको प्रशंसा गरे। उनले उज्यालो नेपाल अभियानमा गैर आवासीय नेपालीहरुको पनि साथ सहयोग हुने बताए। कार्यक्रमको संचालन उपाध्यक्ष अमित कार्कीले गरेका थिए I