अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ ।
यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज गरेर देश निकाला गर्ने तयारी गरेको हो । अमेरिकी विदेश मन्त्रालयका अनुसार सबै किसिमका भिसा लिएर बसेकालाई निरन्तर अनुगमन गर्ने व्यवस्था लागू गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार तोकिएको समयभन्दा बढी बस्ने, कानून उल्लङ्घन गर्ने, सार्वजनिक सुरक्षामा खतरा पुर्याउने वा आतङ्कवादी गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कारबाही गर्ने भनिएको छ । मन्त्रालयले अहिलेसम्म विद्यार्थी भिसा सबैभन्दा बढी खारेज भएको जनाएको छ ।
पछिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थी भिसा खारेज हुने सङ्ख्या चार गुणा बढी भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेशीको बढ्दो सङ्ख्याले अमेरिकी रोजगारीमा असर पारेको टिप्पणी गरेका छन् । भिसा पाएकाहरुको सामाजिक सञ्जाल, गृहदेशका आप्रवासन तथा कानूनी अभिलेख र अमेरिकामा भएका गतिविधिसम्मको परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्रालयका अनुसार ट्रम्प फेरि राष्ट्रपति बने यता छ हजारभन्दा बढी विद्यार्थी भिसा खारेज गरिएको छ । तीमध्ये झन्डै चार हजार कानून उल्लङ्घनका कारण र झन्डै तीन सय आतङ्कवादी गतिविधिमा संलग्न भएको कारण खारेज गरिएको हो ।