इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बाँकी रहेका सबै बन्धकहरूलाई मुक्त गर्न र गाजामा युद्ध समाप्त गर्न इजरायललाई स्वीकार्य सर्तहरूमा वार्ता शुुरु गर्न निर्देशन दिएका छन् ।
नेतन्याहूले बिहीबार राति इजरायली सेनालाई सम्बोधन गर्दै मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय र आन्तरिक विरोधका बाबजुद गाजाको उत्तरी भागमा रहेको गाजा सिटीमा ठूलो हमला गर्ने योजनालाई अनुमोदन समेत गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार राति गाजा डिभिजनको मुख्यालय भ्रमणका क्रममा एक भिडियो वक्तव्य जारी गर्दै नेतन्याहूले सबै बन्धकहरूलाई मुक्त गर्नका लागि तत्काल वार्ता शुुरु गर्न निर्देशन दिएको बताएका हुन् ।
हमासलाई पराजित गर्नु र आफ्ना सबै बन्धकहरूलाई मुक्त गर्ने दुई विषयहरू एकसाथ जोडिएको भन्दै नेतन्याहूले आगामी वार्ताका चरणहरूबारे थप जानकारी भने दिएनन् । इजरायली अधिकारीहरूले यसै सातादेखि आंशिक बन्धक मुक्त गर्ने प्रस्ताव मात्र समावेश युद्धविराम सम्झौताको विरोध गर्दै आएका छन् ।
यसअघि, हमासले कतारी र इजिप्टियन मध्यस्थकर्ताहरूद्वारा तयार पारिएको ६० दिने युद्धविराम प्रस्तावलाई स्वीकार गरेको थियो । सो प्रस्तावमा गाजामा बाँकी रहेका बन्धकहरूमध्ये आधालाई मुक्त गर्ने विषय उल्लेख थियो । तर, नेतन्याहूले पहिलोपटक यस प्रस्तावमाथि प्रतिक्रिया दिँदै हालको सम्झौता स्वीकार नगरेको बताए । वार्ताको स्थान तय भएपछि वार्ताकारहरू पठाइने जनाइएको छ ।
गत शनिबार, नेतन्याहूको कार्यालयले वक्तव्य जारी गर्दै इजरायलले सबै बन्धकहरूलाई एकैपटक मुक्त गर्ने सर्तमा मात्र सम्झौता गर्ने बताएको थियो । वक्तव्यमा युद्ध समाप्त गर्ने सर्तहरूमा हमासको निशस्त्रीकरण, गाजाको गैरसैनिकीकरण, गाजा परिधिमा इजरायली नियन्त्रण र हमास तथा प्यालेस्टिनी अथोरिटीबाहेकको शासन स्थापना समावेश भएको जनाइएको थियो ।
यसैबीच गाजामा इजरायलले गरेको विस्तारित आक्रमण ‘असहनीय’ भएको रेडक्रसले जनाएको छ । गाजा शहरमाथि विजय हासिल गर्ने र प्यालेस्टाइनको घेराबन्दीमा रहेको हमासका बाँकी गढलाई लक्षित गरी थालेको आक्रमणप्रति रेडक्रसले चिन्ता प्रकट गरेको हो ।