सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका उखु किसानहरू आजबाट काठमाडौँमा केन्द्रित आन्दोलनका लागि जुटेका छन् ।
नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवले आफ्ना माग सम्बोधन नभएसम्म आज आइतबारदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने बताए । अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भई धर्ना र विरोध कार्यक्रम गर्ने नेपाल उखु उत्पादक महासंघको योजना छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले उखुको अनुदानका लागि कुनै रकम विनियोजन नगरेकोमा किसानहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । नेपाल उखु उत्पादक महासंघका अनुसार देशभरका किसानहरूको करिब एक अर्ब ६० करोड रुपियाँ अनुदान रकम सरकारले भुक्तानी गर्न बाँकी छ । यसअघि सरकारले प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिने निर्णय गरेको भए पनि उक्त रकमसमेत किसानले पाउन सकेका छैनन् ।
गत वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६५५ रुपियाँ तोकिएको थियो । यसमध्ये चिनी उद्योगले ५८५ रुपियाँ र सरकारले ७० रुपियाँ अनुदान दिने व्यवस्था थियो । तर बजेट अभाव देखाउँदै सरकारले अनुदान रकम आधा घटाएर प्रतिक्विन्टल ३५ रुपियाँमा झारेको छ । किसानहरूले यो रकम अस्वीकार गर्दै पुरानै ७० रुपियाँ कायम गर्न माग गरेका छन् ।
आफ्ना माग सम्बोधन नभएसम्म काठमाडौँको माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने किसानहरूले चेतावनी दिएका छन् । उनीहरूले सरकारले तत्काल आफ्नो माग सुनुवाइ गरी बक्यौता रकम भुक्तानी गर्न र अनुदानको निरन्तरता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवले अनुदान रकम कटौतीले उखु उत्पादनमा कमी आउने चिन्ता बढाएको बताए । उनका अनुसार अनुदान रकम पाउन थालेपछि उत्साहित भएर उखु खेती विस्तार गरेका किसानहरू पछिल्लो समय रकम कटौती भएपछि पलायन हुने अवस्थामा पुगेका छन् ।