काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक अहिले सही नेतृत्वको हातमा नरहेको बताएका छन् ।
पोर्चुगलको राजधानी लिस्बनमा नेपाल आदिवासी जनजाति महासंघद्वारा आयोजित अभिनन्द कार्यक्रममा घिसिङले सही नेतृवको अभावमा मुलुकमा विकासको गति रोकिएको र रोजगारीको अवसर नपाएर युवा पलायन बढेको बताए ।
सही नेतृत्व नभएसम्म मुलुक विकास हुन नसक्ने उनको भनाइ थियो । ‘सही नेतृत्व भएको भए अहिले समस्या हुँदैनथ्यो’, उनले भने, ‘सही नेतृत्व नहुँदा देशमा रोजगारी नपाएर युवाहरु विदेशिनु परेको छ ।’
यद्यपि घिसिङले नेपालमा केही पनि भएको छैन भन्ने मान्न आफू तयार नरहेको बताए । मुलुकको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा विगतको तुलनामा धेरै परिवर्तन भएको दाबी उनले गरे ।
फरक प्रसंगमा उनले देशमा रोजगारी नपाएर विदेशिएका युवाले रेमिट्यान्समार्फत मुलुकको अर्थतन्त्रमा ठूलो टुवा पु¥याएको बताए । ११ चैत २०८१ मा वर्तमान केपी ओली नेतृत्वको मन्त्रिपरिषदले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो ।
लोडसेडिङको समयमा अतिरिक्त समय विद्युत उपयोग गरेका उद्योगीले बक्यौता तिर्नुपर्ने अडान राखेपछि सरकार घिसिङसँग चिढिएको थियो । सोही विवाद चर्किंदै गएपछि उनलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।