९ भाद्र २०८२, सोमबार
Follow Us

पण्डित कुवेर सुवेदीले स्कटल्याण्डमा सुनाए हरितालिका तीजको महत्व

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८२, सोमबार १८:२९

‘पर्वतमा जन्मेकी थिइन् पार्वती’

लण्डन। धर्मदर्शन फाउण्डेशन देवघाटका संस्थापक तथा चर्चित कथावाचक पण्डित कुवेर सुवेदीले स्कटल्याण्डको फाइवमा आयोजित तीज कार्यक्रममा नेपाली महिलाको महान् चाड हरितालिका तीजको महत्व र महिमा वाचन गरेका छन्।

फाइव नेपाली कम्युनिटी र युरोपियन नेपाली समाज स्कटल्याण्डको संयुक्त आयोजनामा सोमबार सम्पन्न तीज कार्यक्रममा सुवेदीले भगवान् शिव र पार्वतीबीच भएको दिव्य मिलनको प्रसंग स्मरण गर्दै हरितालिका तीजको उत्पत्ति तथा यसको धार्मिक–सांस्कृतिक महत्वबारे विस्तृत व्याख्या गरे।

उनले हिमालयकी छोरी पार्वतीले विष्णुसँग विवाह गरिदिने तयारी भएको थाहा पाएपछि आफ्ना दुई सखीको सहयोगमा घरबाट भागेर वनमा गई भगवान् शिवलाई प्राप्त गर्न कठोर तपस्या गरेको प्रसंगलाई जोड दिँदै महिलाको श्रद्धा, भक्ति र अटल संकल्प नै तीजको मूल सार भएको बताए। सुवेदीले पार्वतीको जन्मस्थान नेपालकै पर्वत जिल्ला रहेको स्मरण गर्दै दर खाने परम्पराको ऐतिहासिक–धार्मिक सम्बन्ध पनि पार्वतीसँग गाँसिएको स्पष्ट पारे।

उनका अनुसार नेपाली चाडपर्वको वास्तविक स्वरूप दर्शनमा आधारित भए पनि पछिल्ला दिनमा प्रदर्शनमुखी प्रवृत्ति बढेको छ। उनले दर खाने दिनबारे भ्रम नराख्न आग्रह गर्दै, एक महिना अगाडि खाए पनि फरक नपर्ने स्पष्ट पारे।

सुवेदीले तीजलाई केवल व्रत वा पूजा मात्र नभई महिलाको समर्पण, श्रद्धा र सहनशीलताको प्रतीकका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले पतिप्रतिको भक्ति र नारीको अटूट प्रेम जन्म–जन्मसम्म रहने कुरामा जोड दिए।

कार्यक्रममा स्कटल्याण्डस्थित नेपाली संघ–संस्थाका प्रतिनिधि, व्यवसायी तथा महिलाहरूको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएका छन्।

धेरै पढिएको