काठमाडौं । महिलाको उजुरीमा पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महर रिहा भएका छन् । उनी हाजिरी जमानीमा छुटेका हुन् ।
पूर्वप्रेमिकाले प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए । प्रहरीले महरलाई चरित्र हत्यामा संलग्न देखिएकाले विद्युतीय कारोबार ऐन–२०६३ को दफा (४७) को अपराधमा पक्राउ गरिएको बताएको थियो ।
महरको बयान सकिएपछि हाजिरी जमानीमा छाडिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूका प्रवक्ता गोकुलबहादुर निरौलाले बताए । युवतीले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै युवतीले हुलाकमार्फत जाहेरी दर्ता गराएकी थिइन् ।
महरविरुद्ध काठमाडौं जिल्ला अदालतले ९ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो ।