काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गरेका छन् ।
बुधबार काठमाण्डूमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवादलाई सम्बोधन गर्दै उनले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने जिकिर गरे ।
‘अहिले माओवादीअनुसारको पाठ्यक्रम हुनुपर्ने, यो परिवर्तन उसले ल्याएको भएपछि नीतिहरु पनि त्यो अनुसार बन्नुपर्ने,’ प्रचण्डले भने, ‘किन बन्न सकेन भन्नेकुरामा ध्यान जान जरुरी छ । लास्टमा चुरो कुरा नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ । बच्दैन-बच्दैन । धेरै ठूलो अफ्ठ्यारोमा जान्छ ।’
वर्तमान सरकार डरबाट बनेको दाबी गर्दै उनले सुशासन दिनका लागि नबनेको समेत उल्लेख गरे ।
‘माओवादीको पहिलो सरकार, दोस्रो सरकार, तेस्रो सरकार हुँदा राम्रो बाहेक कुनै नराम्रो काम गरेकै छैन भन्नेकुरा बिर्सिएर कांग्रेस र एमाले जो भ्रष्टाचारमा लिप्त छन्, भ्रष्टाचारीलाई बचाउनै बनाएका हुन् त्यो सरकार,’ प्रचण्डको भनाइ छ, ‘मैले त खुलेआम भनेको छु, सदनमै भनेको छु । यो सरकार डरबाट बनेको हो ।’