काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशभर जारी आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै शान्ति, सुरक्षा र निर्वाध व्यवसाय सञ्चालनका लागि सरकारसँग आग्रह गरेको छ ।
महासंघले सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोग जस्ता विषयमा युवा पुस्ताको चासोलाई सकारात्मक रूपमा लिएको जनाएको छ ।
यी मागहरूको विवेकपूर्ण समाधान भई देश समृद्धिको दिशामा अघि बढ्ने अपेक्षा महासंघले गरेको छ । साथै, देशको समृद्धिका लागि सुशासन कायम गर्न र अनिश्चितता अन्त्य गर्न सरकारसँग समन्वय र सहकार्य गर्न महासंघ तयार रहेको जनाएको छ ।
पछिल्लो समय आन्दोलनका क्रममा उद्यमी–व्यवसायीका उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमा तोडफोड र आगजनीका घटना भएका छन् । यस्ता घटनाको महासंघले कडा शब्दमा भत्र्सना गरेको छ । प्रारम्भिक अनुमानअनुसार देशभरका उद्योग–व्यवसायमा अर्बौं रुपैयाँको क्षति भएको छ । जसले राजस्व र कुल गार्हस्थ्य उत्पादनमा गम्भीर असर पार्ने देखिएको छ ।
महासंघले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ । निजी क्षेत्रले नेपाली अर्थतन्त्रमा ८१, राजस्वमा ८० र रोजगारीमा ८६ प्रतिशत योगदान पु-याउने भएकाले उद्यम–व्यवसायको निर्वाध सञ्चालनका लागि आवश्यक शान्ति–सुरक्षाको व्यवस्था गर्न महासंघले जोडदार माग गरेको छ । निषेधाज्ञा र कफ्र्युका समयमा पनि अत्यावश्यक सेवा, औषधि, खाद्यान्न, दूध, पानी, तरकारी, पेट्रोलियम पदार्थजस्ता वस्तुको सहज आपूर्ति र आवतजावत सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
महासंघले केन्द्र, प्रदेश र जिल्ला तहका सुरक्षा समितिमा आफ्ना र उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न पनि माग गरेको छ । साथै, गुणस्तरीय सामानको नियमित आपूर्ति कायम राख्न र बजारमा अभाव हुन नदिन देशभरका उद्यमी–व्यवसायीलाई अनुरोध गरेको छ ।
महासंघले अत्यावश्यक सामग्रीको आयात–निर्यात सहज बनाउन भन्सार नाकामा सुरक्षा प्रदान गरी सञ्चालनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।