काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम सकिएपछि सडक एकतर्फी रुपमा सुचारु भएको छ ।
शुक्रबार साँझबाट अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक ४५ घन्टापछि सञ्चालनमा आएको हो । तुइन खोलामा खसेको पहिरो पन्छाएपछि आइतबार अपरान्ह ४ बजेपछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
पहिरो निरन्तर खसेकाले पन्छाएर सडक सुचारु गर्न कठिनाइ भएको थियो । पहिरोको जोखिम कायमै रहेकाले आइतबार राति ९ बजेदेखि सोमबार विहानसम्म सवारी साधन सञ्चालनका लागि रोक लगाइएको बागमती ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडक डिभिजन कार्यालय चितवनले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो । बेला–बेलामा पहिरो झरिरहेकाले काम गर्न अप्ठेरो भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए ।
सडक अवरूद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका थिए । स्थानीय प्रशासनले खानेकुरा व्यवस्थापन गर्नुका साथै आइतबार सडकमै यात्रुको स्वास्थ्य परिक्षण समेत गरेको थियो । तुइन खोलाको पहिरोले गतवर्ष पनि यात्रुलाई दुःख दिएको थियो ।
नयाँ पुल बनाउनेक्रममा पहरो फोरेपछि तुइन खोलामा पहिरो झर्न थालेको हो । २०७२ साल को भुकम्पले माथिल्लो भागमा चिरा चिरा पारेकोले सो सडक खण्ड अहिले पनि जोखिममा नै रहेको बिज्ञहरुले बताइरहेका छन् ।