गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इराकले इराकमा अवैध रूपमा बसिरहेका नेपालीहरुलाई स्वदेश फर्कनका लागि आममाफी घोषणा गर्न आग्रह गरेको छ।
इराक हेर्ने जिम्मेवारी समेत पाएका कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालसँग बग्दादस्थित कोरल होटलमा आयोजित अन्तरक्रिया कार्यक्रममा इराकमा रहेका नेपाली श्रमिकहरूले आफ्ना समस्या र मागहरू राखेका थिए।
कार्यक्रममा एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठले अवैधानिक रूपमा ठूलो संख्यामा नेपाली श्रमिक इराक प्रवेश गरिरहेकाले उनीहरूले भिजिट भिसा मार्फत प्रवेश गर्दा विभिन्न समस्या झेल्नुपरेको बताए। उनले कूटनीतिक पहलमार्फत इराकमा कामदार भिसाको व्यवस्था मिलाउन राजदूत लम्सालसँग आग्रह गरे।
श्रेष्ठले थपे, “इराकभर अवैधानिक रूपमा बसेर नेपाल फर्कन चाहने नेपालीहरूलाई निश्चित समयसीमा र सीमित जरिवाना राखी आममाफी घोषणा गर्न इराक सरकारसँग कूटनीतिक पहल गर्न आवश्यक छ।”
उनले शव व्यवस्थापनमा ढिलाइ र असामयिक घटनामा क्षतिपूर्ति वितरणमा पारदर्शिता अभाव देखिएको भन्दै दूतावासको ध्यानाकर्षण गराए।
त्यसैगरी, इराक र कुर्दिस्तानमा कार्यरत श्रमिकहरूलाई नेपाल गइ पुनः फर्किन सहज बनाउन, इराकी वा कुर्दिस्तानका नवीकरणयोग्य अकामा (निवास अनुमति) देखाएर सिधै यात्रा गर्न सक्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गर्न माग गरिएको एनआरएनए इराकले जनाएको छ।
संघका अनुसार, यस्तो व्यवस्था नभए एयरपोर्टमा “सेटिङ” बिना यात्रा गर्न असम्भव भएको गुनासो समेत श्रमिकहरूले गरेका छन्।
एनआरएनए इराकका अध्यक्ष श्रेष्ठका अनुसार, कुर्दिस्तानको अर्बिल र सुलेमानी, बग्दाद र किर्कुक गरी विभिन्न सहरमा हाल ८ जना नेपाली विभिन्न मुद्दामा जेलमा रहेका छन्। आर्थिक अभावका कारण उनीहरूलाई स्वदेश फर्काउन कठिनाइ भएको जानकारी पनि राजदूत लम्साललाई दिइएको थियो।
साथै, संघले राहदानी नवीकरणको समस्या समाधान गर्न र वैधानिक रूपमा श्रम भिसा प्राप्त गरी इराकमा काम गर्न सक्ने वातावरण बनाउन नेपाल सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
हाल सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजार नेपाली श्रमिक कार्यरत रहेको अनुमान गरिएको छ।
= योगेन्द्र योगी