५ कार्तिक २०८२, बुधबार
Follow Us

जटिलता अन्त्य गर्न लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ आवश्यक पर्‍यो : संयोजक प्रचण्ड

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०८२, बुधबार ०७:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको वर्तमान राजनीतिक जटिलता समाधानका लागि लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ र परिवर्तनका पक्षधर शक्तिहरूबीच राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् । नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रलाई एकताबद्ध गरी अग्रगामी दिशामा अघि बढाउने मोडमा आफूहरू रहेको स्पष्ट पारेका छन् ।

संयोजक प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणालीजस्ता ऐतिहासिक उपलब्धिहरूमा टेकेर मात्रै मुलुक अगाडि बढ्न सक्नेमा जोड दिए । उनले भने, ‘लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन ।’

नेपाल संवत्को राष्ट्रिय महत्वलाई स्मरण गर्दै प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको र वि.सं. २०८० मा नेपाल सरकारका सबै दस्तावेजमा यसको प्रयोग गर्ने निर्णय गरिएकोमा सन्तोष व्यक्त गरे ।

वर्तमान चुनौतीहरूको सामना गर्न परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिहरूबीचको राष्ट्रिय एकतालाई उनले टड्कारो आवश्यकताका रूपमा चित्रण गरे । संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धिको साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुने उनको भनाइ थियो ।

धेरै पढिएको