१२ कार्तिक २०८२, बुधबार
Follow Us

उपसभामुख राना र बेलायतको ननिटन बेडवर्थ बरोका ‘मेयर’ बीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०८२, बुधबार ०३:३७
काठमाडौं । उपसभामुख इन्दिरा राना र बेलायतको ननिटन बेडवर्थ बरोको ‘मेयर’ भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगरबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित उपसभामुख रानाको कार्यकक्षमा आज भएको भेटका क्रममा भेटका क्रममा उहाँहरूबीच अनुभव आदानप्रदान भएको थियो । उपसभामुख रानाले हालै मेयरमा निर्वाचित मगरलाई सम्मानसमेत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
सोही अवसरमा उपसभामुख रानाले भन्नुभयो, “नेपालीका लागि तपाईँ एउटा गौरव हो, बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरेकी छु ।”
पाल्पाको चिदिपानी चन्द्रवन (हाल) माधागढी गाउँपालिका–१ मा जन्मिएका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गर्नुभएको थियो । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गर्दा उहाँ सन् १९९३ मा बेलायती सेनामा भर्ती हुनुभएको थियो । करिब तीन दशक ब्रिटिस सेनामा सेवा गरेका सारु हाल ब्रिटिस गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुनुहुन्छ ।

धेरै पढिएको