काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा हिजो बुधबार साँझ सरकार, राजनीतिक दलका नेता र जेन-जीका प्रतिनिधिबीच वार्ता भयो । २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन भन्दै आयोजना गरिएको छलफलमा भ्रष्टाचारीमाथि कारबाही र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचनलगायत विषय पनि उठे ।
जेन-जी अगुवा मिराज ढुंगानाले मुलुकको समस्या समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विकल्प नरहेको बताए । तर, ढुंगानाको प्रस्तावको विपक्षमा जेनजीकै अरु समूह देखिए । रक्षा बमलगायत जेनजी अगुवाले उनको खण्डन गरेका थिए । सामूहिक प्रयत्नबाट मात्र मुलुकको विकास सम्भव भएको भन्दै उनीहरुले कुनै एक व्यक्तिको प्रयास मुलुक बनाउन पर्याप्त नहुने धारणा राखे ।
बमलगायतले प्रतिनिधिसभा निर्वाचनको विकल्प नरहेको बताए । निर्वाचन तयारीसँगै सुशासन र भ्रष्टाचारविरुद्ध आफूहरुले उठाएको आवाजको सम्बोधन गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराए । वार्तामा जेनजीका तर्फबाट मिराज ढुंगाना, रक्षा बम, विवेक दाहाल, जेम्स कार्की, अमीत खनाल र राजन रानामगर लगायतको सहभागिता थियो ।
यस्तै सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल थिए ।
काँग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेबाट युवा संघ अध्यक्ष क्षितिज थेबे र विघटित प्रतिनिधिसभा सदस्य महेश बर्तौला, माओवादी केन्द्रबाट सचिवालय सदस्द्वय नारायणकाजी श्रेष्ठ र वर्षमान पुन तथा केन्द्रीय सदस्य माधव सापकोटा, रास्वपाबाट उपाध्यक्ष स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राप्रपाबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहनकुमार श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी थिए ।