काठमाडौँ । भारत आइसिसी महिला एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ । गए राति नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा साउथ अफ्रिकालाई पराजित गर्दै भारत पहिलो पटक च्याम्पियन बन्यो ।
फाइनलमा भारतले दिएको २९९ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिका ४५.३ ओभरमा २४६ रन बनाएर अलआउट भयो । साउथ अफ्रिकाका लागि लौरा वोल्भार्ड्टले शतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन । उनले ९८ बलमा १०१ बनाएकी थिइन् ।
भारतकी दीप्ती शर्माले ५ विकेट लिइन् । त्यसअघि ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९८ रन बनाएको थियो । शाफली बर्माले ८५, दीप्ती शर्माले ५८ र स्मृति मन्धनाले ४५ रन बनाएकी थिइन् ।