भक्तपुर । नेपाली काँग्रेस महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको आज बिहान उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा निधन भएको छ । उनी सहिद राधेश्याम जोन्छेँकी धर्मपत्नी हुन् ।
परिवारका अनुसार स्वर्गीय जोन्छेँ केही समयदेखि अस्वस्थ रहँदै आएकी थिइन । उनको निधनले नेपाली काँग्रेस र लोकतान्त्रिक आन्दोलन दुवै क्षेत्रमा अपूरणीय क्षति पुगेको पार्टीका नेताहरूले बताएका छन् । नेत्री जोन्छेँले लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवअधिकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी थिइन् ।
उनले लोकतान्त्रिक आन्दोलनका कठिन समयमा समेत पार्टी र जनताको पक्षमा निरन्तर प्रतिबद्धता जनाउँदै योगदान पुर्याएकी थिइन् ।
जिल्ला पार्टी सभापति दुर्लभ थापाले जोन्छेँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै काँग्रेसले एक प्रतिबद्ध, सुसंस्कृत र आदर्श नेतृ गुमाएको प्रतिक्रिया व्यक्त गरेका छन् । स्वर्गीय जोन्छेँको पार्थिव शरीर आज बिहान ९:३० बजेसम्म राधेश्याम स्मृति प्रतिष्ठान कार्यालय, चुनदेवी भक्तपुरमा श्रद्धाञ्जलीका लागि राखिने उनले जानकारी दिए ।
त्यसपछि दाहसंस्कार गरिने परिवारले जनाएको छ ।