काठमाडौं । एकता विवादको भुमरीमा फसेको नेकपा एकीकृत समाजवादीमा पुनर्गठन पक्षधरले आफ्नो नयाँ नेतृत्व चयन गरेको छ । पार्टी विभाजनपूर्व महासचिव रहेका घनश्याम भुसाललाई पुनर्गठित नेकपा एकीकृत समाजवादीको संयोजक तोकिएको हो ।
शनिबार राति ६७ जना केन्द्रीय सदस्यहरूको भर्चुअल (जुम) बैठकले भुसाललाई संयोजकको जिम्मेवारी दिएको केन्द्रीय सदस्य अमृतसागर बस्नेतले जानकारी दिए । बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्नलाई यथावत राख्ने निर्णय गरेको छ । यद्यपि, कानूनी र संसदीय व्यवस्थाका प्रावधानहरूको गहन अध्ययन गरी आवश्यकता अनुसार अगाडि बढ्ने मार्गचित्र पनि तय गरिएको छ ।
पुनर्गठित पार्टीले विशेष महाधिवेशन अघि मंसिर महिनामै राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । उक्त भेलाको मिति आजभोलिमै घोषणा गरिने बस्नेतले बताए । जुम बैठकले पार्टीका नेता-कार्यकर्तामा रहेको अन्योलता चिर्न सबैले सक्रिय पहल गर्ने निर्णय समेत गरेको छ ।