लन्डन । बेलायतमा आयोजना हुन लागेको एक फिल्म अवार्ड कार्यक्रममा सहभागी हुन फिल्मकर्मी, प्राविधिक तथा कलाकारसहित करिब तीन दर्जन नेपाली कलाकार लन्डन उत्रिएका छन्।
आगामी शनिवार हुने “दोश्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२५ (इन्फा अवार्ड)” मा सहभागी हुन नेपालका चर्चित तथा प्रतिभाशाली कलाकारहरू बिहीवार साँझ लन्डनस्थित हिथ्रो विमानस्थल आइपुगेका हुन्।
१५ नोभेम्बर, शनिबार साँझ लन्डनको ग्रीनफोर्ड टाउन हलमा आयोजना हुने उक्त कार्यक्रम नेपाली कलाकारहरूका लागि ठूलो उत्सव हुने अभिनेत्री दिपाश्री निरौला बताउँछिन्। “यो विदेशमा बसेर पनि नेपाली समुदायले नेपालको कला र संस्कृतिप्रति देखाएको माया र ममताको प्रतीक हो,” उनले भनिन्।
हाँस्यकलाकार तथा नायक दिपकराज गिरीले विदेशमा आयोजना हुने फिल्म अवार्डले नेपाली सिनेमाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार, यस्ता अवार्डले विदेशमा रहेका नेपालीलाई देशसँग जोड्ने पुलको काम गर्दछ। कलाकारहरू हिथ्रो विमानस्थल आइपुग्दा आयोजक समितिले भव्य स्वागत गरेको थियो।
इन्फा अवार्ड कार्यक्रममा सहभागी हुन नेपालबाट आएका कलाकारहरूमा दिपकराज गिरी, दिपाश्री निरौला, गौरी मल्ल, केदार घिमिरे, जीतु नेपाल, प्रदीप खड्का, रमेश बुढाथोकी, एन्जिला तुम्बापो सुब्बा, दिव्या रायमाझी, तेरिया फोहोरामगर, केकी अधिकारी, निता ढुंगाना, विजय बराल, समर्पण लामा, अलिसा शर्मा, कविता नेपाली, उषा उप्रेती, दिया मास्के, ऋचा घिमिरे, मलिना जोशी, उपासना सिंह ठकुरी, मिलन चाम्स, रिहान गिरी, प्रमोद अग्रहरीलगायत करिब तीन दर्जन कलाकार समावेश छन्।
आयोजक मध्येका एक उमेशराज मोक्तानका अनुसार अवार्ड छनोटका लागि विशेष जूरी गठन गरिएको छ। ५५ वटा फिल्ममध्येबाट २७ विधामा अवार्ड वितरण गरिनेछ।
जूरी समितिमा गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापा रहेका छन्।
यस पटक अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने तयारी भएको आयोजकले जनाएको छ।
कार्यक्रमका बारेमा आयोजक समितिका सदस्य आशिषराज पन्तले ख्यातिप्राप्त कलाकारहरूले एउटै मञ्चबाट गायन, हास्यव्यङ्ग्य, नृत्य लगायत आकर्षक प्रस्तुति दिने जानकारी दिए।
दोश्रो इन्फा अवार्डलाई सफल बनाउन बेलायतबाट उमेशराज मोक्तान, टंक भट्टराई, राज पाण्डे, आशिषराज पन्त तथा नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी, मनिष कार्कीलगायतको टोली सक्रिय छ। कार्यक्रममा बेलायतस्थित नेपाली समुदायले उत्साहजनक साथ र सहयोग प्रदान गरेको समाजसेवी क्षमता ढकालले बताइन्।
इन्फा अवार्डमा सहभागी अधिकांश कलाकार आगामी सोमवार नेपाल फर्कनेछन्।