१५ मंसिर २०८२, सोमबार
Follow Us

एनआरएनए ‘बृहत् एकता’ को अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा स्वागत

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०८२, सोमबार ०६:०४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बहुप्रतीक्षित ‘बृहत् एकता’ प्रस्तावसम्बन्धी आधिकारिक हस्ताक्षर समारोह आतबार सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको एकताको अन्तर्राष्ट्रिय धादिङ समाजले यस ऐतिहासिक कदमप्रति हार्दिक स्वागत तथा बधाई व्यक्त गरेको छ। अध्यक्ष राजन खकुरेलले एक विज्ञप्ति जारी गर्दै उक्त स्वागत गरेका हुन् ।

सम्झौताले एनआरएनए भित्र लामो समयदेखि कायम रहेको मतभेद, विभाजन र अन्यौलताको अन्त्य गर्दै संगठनलाई एकता, स्थायित्व र सुशासनको दिशातर्फ अघि बढाउने दृढ आधार तयार भएको समाजका अध्यक्ष राजन खकुरालले बताएका छन्। उनका अनुसार, विश्वभर फैलिएका गैरआवासीय नेपालीलाई साझा उद्देश्य, दृष्टिकोण र भावनामा एकताबद्ध गर्ने यो कदमले एनआरएनएको संरचना अझ सबल, पारदर्शी र उत्तरदायी बन्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वभरका एनआरएनए नेतृत्व, पदाधिकारी, सल्लाहकार, पूर्व–पदाधिकारी तथा एकता प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण पक्षप्रति विशेष कृतज्ञता व्यक्त गरेको छ। समाजले ‘बृहत् एकता’लाई गैरआवासीय नेपालीहरूको राष्ट्रिय पहिचान, सम्मान र हितलाई विश्वमञ्चमा थप प्रभावकारी रूपमा अभिव्यक्त गर्ने ऐतिहासिक माइलस्टोनका रूपमा व्याख्या गरेको छ।

एकताको माध्यमबाट विश्वभरका नेपाली संघ–संस्थाहरूले एनआरएनएसँग सहकार्य गर्दै सामाजिक, सांस्कृतिक तथा विकासका क्षेत्रमा संयुक्त पहललाई अझ सहज, प्रभावकारी र दीगो बनाउन सहयोग पुग्ने समाजको विश्वास छ।

समाजले आगामी दिनहरूमा आपसी विश्वास, सहकार्य, पारदर्शिता र समावेशितालाई केन्द्रमा राखी अघि बढ्ने एनआरएनए नेतृत्वको प्रतिबद्धता सफल होस् भन्ने शुभकामना व्यक्त गरेको छ।

धेरै पढिएको