१८ मंसिर २०८२, बिहीबार
Follow Us

एनआरएनएको एकता दिगो हुनुपर्छ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०८२, बिहीबार ०९:४२

लण्डन । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको एकता दिगो र स्थायी हुनुपर्नेमा जोड दिएका छन्। बुधवार गुण्डुमा गैरआवासीय नेपाली संघको एक प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले संघको अभियान राजनीतिक हस्तक्षेपका कारण गिजोलिँदै आएको बताउँदै अब राजनीतिक हस्तक्षेप रोकिएर संस्था विधानअनुसार चल्नुपर्ने आवश्यकता दोहोर्याए।

ओलीले आगामी महाधिवेशनमा सबै पक्षलाई समेटेर एकताको सन्देश दिन आग्रह गर्दै संस्थामा गैरराजनीतिक, सामाजिक भावनाले काम गर्ने नेतृत्व आउनुपर्ने बताए। उनले भने, “मैले पहिले देखिनै भनिरहेको छु, संस्था विधानअनुसार चल्नु पर्छ। यो बुढा अध्यक्ष भएपछि बुढी अध्यक्ष बनाउने संस्था होइन।” साथै उनले “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने राष्ट्रिय अभियानमा गैरआवासीय नेपालीहरूको निरन्तर साथ र योगदानको अपेक्षा व्यक्त गरे।

भेटका क्रममा प्रतिनिधिमण्डलले संघ अब एकजुट भइसकेकाले गैरआवासीय नेपाली नागरिकता, मताधिकार र लगानीसम्बन्धी विषयमा छिटो सकारात्मक निर्णयका लागि सरकारको सहयोग माग गर्‍यो। संघका अध्यक्ष डा. बद्री केसीले संस्था एक ढिक्का भएर अघि बढिरहेको बताउँदै नागरिकता तथा लगानीसम्बन्धी थाती मुद्दाहरू समाधान गर्न सहयोग आवश्यक भएको उल्लेख गरे। अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले सर्वोच्च अदालतले समेत टुङ्ग्याउन नसकेको विवाद स्वस्फूर्त रूपमा मिलाइएको र अब सबैले महसुस गर्नेगरी वास्तविक एकता कायम भएको बताए।

उपाध्यक्ष डा. विनोद श्रेष्ठले नेपालमा आर्थिक र सीप–लगानी प्रवाह गर्न राज्यले आवश्यक सहयोग गर्नुपर्ने उल्लेख गर्दै एकता पछि उठेका मागहरू ठोस निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे। भेटघाटमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू, सल्लाकारहरु, वर्तमान तथा पूर्वपदाधिकारीहरू तथा गैरआवासीय नेपालीहरूको उल्लेख्य उपस्थिति थियो।


धेरै पढिएको