११ पुष २०८२, शुक्रबार
Follow Us

काँग्रेसका लागि विशेष महाधिवेशन गर्नु अनिवार्य जिम्मेवारी भयो: गगन थापा

नेपालब्रिटेन संवाददाता
११ पुष २०८२, शुक्रबार १२:५२

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य रहेको बताएका छन् । शुक्रवार पार्टी मुख्यालयमा विशेष महाधिवेशन पक्षधरहरूको माग पत्र बुझेपछि उनले पार्टी केन्द्रीय कार्य समितिले अव विशेष महाधिवेशनको माग पूरा गर्न अनिवार्य भएको प्रतिक्रिया दिएका हुन् ।

महामन्त्री थापाले मङ्सिर महिनाभित्र पार्टीको १५ औ महाधिवेशन नभएपछि पुस मसान्तसम्म गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको र त्यो हुन नसके पछि विशेष महाधिवेशनको मागअनुसार अघि बढ्नु पार्टीको लागि अनिवार्य सर्त भएको बताए ।

महामन्त्री थापाले विशेष महाधिवेशनमा जाने कुरालाई अव पार्टी केन्द्रीय कार्य समितिले नै स्वीकार गर्नुपर्ने भएकाले त्यसमा आफूले थप टिप्पणी गर्न आवश्यक नभएको जिकिर समेत गरे ।

उनले भने ‘यो हाम्रो जिम्मेवारी हो । हामी यसलाई पार्टीको चालु केन्द्रीय कार्य सम्पादन समितिमा तपाईँहरूबाट प्राप्त भएको पत्रको बारेमा जानकारी गराउने नै छौ । पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौ । र पार्टीको विधान नमान्ने अधिकार सुविधा हामी कसैलाई छैन । पार्टीको विधानले नै एउटा विशिष्ट व्यवस्था गरेको छ । विधानको धारा १७ ९२० ले नेपाली काँग्रेस पार्टीको ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले कुनै विशिष्ट कारण देखाएर विशेष महाधिवेशनको आवश्यकता बोध गरेमा विशेष महाधिवेशन डाकिनु पर्दछ । त्यो अनिवार्य छ । त्यो ऐच्छिक विषय होइन । म साथीहरूले पहिलो पटक दिएको पत्र पनि स्मरण गर्न चाहन्छु । विशेष महाधिवेशनले नै केही विषयहरूको छिनोफानो गर्नु पर्दछ । मंसीर महिना भित्र पार्टीले नियमित महाधिवेशन गर्छ भने विशेष महाधिवेशनको आवश्यकता पर्दैन । अन्यथा विशेष महाधिवेशन अनिवार्य छ भन्ने कन्टेन्टसहितको पत्र यहाँ दर्ता गराउनुभएको थियो । र म यो पनि सम्झन्छु कि हामीले यो बीचमा मङ्सिर १५ गते कार्यतालिका निर्माण गयौं । र कार्यतालिका केन्द्रीय समितिले पारित गर्दैगर्दा पुस मसान्तसम्मको गर्दा पनि विशेष महाधिवेशन आह्वानकर्ता साथीहरूले पुस मसान्तसम्म भएपनि हुन्छ भनेपनि त्यसलाई हामीले स्वीकार गर्छौ भन्ने हिसाबले लिनु भयो । किनकि पुस मसान्तसम्मको अवधि विशेष महाधिवेशनको बाध्यकारी समय थियो । अहिले पत्रमा नै तपाईँहरूले भनिसक्नुभएको छ–यसको बारेमा मैले अहिले धेरै टिप्पणी गर्न मिल्दैन । तर यति कुरा भन्छु कि–विशेष महाधिवेशन पुस मसान्त भित्र अनिवार्य गर्नुपर्ने कुरा यो अव नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्य समितिको अनिवार्य जिम्मेवारी भित्र पर्छ । यो हाम्रा निम्ति पनि अव ऐच्छिक विषय रहेन । कि हामीले यो भन्दा अगाडि नै अधिवेशन गरिसक्नु पर्दथ्यो । १५ औ महाधिवेशन सम्पन्न गरेको भए आफै यो मागको सार्थकता सकिन्थ्यो । १५ औ महाधिवेशन यो बीचमा गर्न नसक्ने अवस्था बनेकोमा विशेष महाधिवेशनको तपाईँहरूको माग सम्बोधन गर्नु अनिवार्य हुन्छ । यो ऐच्छिक विषय रहँदारहँदै ।’

महामन्त्री थापाले १५ औँ महाधिवेशन पुस मसान्त भित्र गरिसक्नुपर्ने भएकाले पनि विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्ने पार्टीको जिम्मेवारी भएको तर्क पनि गरे ।

धेरै पढिएको