१५ पुष २०८२, मंगलवार
Follow Us

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

नेपालब्रिटेन संवाददाता
१५ पुष २०८२, मंगलवार ०६:३२

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवम् बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान ढाकास्थित एभरकेयर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

बिएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, जियाको निधन बिहान करिब ६ बजे फज्रको नमाजलगत्तै भएको थियो । लामो समयदेखि अस्वस्थ रहेकी उनी विगत केही महिनायता अस्पतालमा सघन उपचार गराइरहेकी थिइन् । विधिको विडम्बना नै मान्नुपर्छ, उनका छोरा तथा बिएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमान १७ वर्ष लामो निर्वासन अन्त्य गर्दै गत २५ डिसेम्बरमा मात्र लन्डनबाट ढाका फर्किएका थिए । छोरा स्वदेश फर्किएको पाँच दिन नबित्दै आमाको वियोग सहनु परेको छ ।

बंगलादेशको राजनीतिमा चार दशकभन्दा बढी समयदेखि प्रभावशाली भूमिका निर्वाह गरेकी जिया आफ्ना पति तथा तत्कालीन राष्ट्रपति जियाउर रहमानको हत्यापछि राजनीतिमा होमिएकी थिइन् । सन् १९८१ मा पतिको हत्यापछि पार्टीको बागडोर सम्हालेकी उनी सन् १९९१ मा बंगलादेशको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्न सफल भइन् ।

सन् १९९१ को आम निर्वाचनमा पार्टीलाई विजय दिलाएर प्रधानमन्त्री बनेकी जियाले सन् २००१ देखि २००६ सम्म दोस्रो कार्यकालका लागि सरकारको नेतृत्व गरेकी थिइन् । पछिल्लो समय शेख हसिनाको शासनकालमा उनीमाथि विभिन्न मुद्दा लगाइएको थियो र जेल जीवन समेत भोग्नुपरेको थियो ।

सन् २०२४ मा भएको जनआन्दोलनमा उनले सक्रिय समर्थन जनाएकी थिइन् । मोहम्मद युनूसको नेतृत्वमा गठित अन्तरिम सरकारले उनी र उनका छोरा तारिक रहमान माथि लगाइएका पुराना राजनीतिक मुद्दाहरू खारेज गरिदिएको थियो ।

धेरै पढिएको