२३ पुष २०८२, बुधबार
Follow Us

वेलायतमा नेपाली पूर्वविद्यार्थीद्धारा आफ्नै गुरुको कफिनलाई ‘गार्ड अफ अनर’ सम्मान

नेपालब्रिटेन संवाददाता
२१ पुष २०८२, सोमबार ०१:५६

आफ्ना गोर्खाली विद्यार्थीबाट एक प्रधानाध्यापकले अन्तिम बिदाइमा चाहेको त्यो ‘गार्ड अफ अनर’

केन जोन्सले गोर्खा पल्टनका आफ्ना पूर्व विद्यार्थीहरूद्वारा सम्मान गारदसहित अन्त्येष्टि पाउन अन्तिम इच्छा व्यक्त गरेका थिए। जोन्सको इच्छानुसार, विद्यार्थीहरू र गोर्खा भेट्रानहरूले चर्चमा उनको कफिनलाई ‘गार्ड अफ अनर’ प्रदान गरे।

कोल्चेस्टरमा भएको यो आत्मीय अन्त्येष्टिले नेपाल र बेलायतबीचको सम्बन्धलाई थप बलियो बनाएको छ। सम्बन्धहरू भूगोल र समयभन्दा कति धेरै माथि हुन्छन् भन्ने एउटा जीवन्त उदाहरण बेलायतको कोल्चेस्टरमा केही दिन अघि देखियो। आफ्नो जीवनकालको केही महत्त्वपूर्ण समय काठमाडौँस्थित बुढानीलकण्ठ स्कुललाई दिएका पूर्वप्रधानाध्यापक केन जोन्सले जीवनका अन्तिम पलहरुमा केही इच्छाहरु ब्यक्त गरे।

उनको अन्तिम इच्छाका रुपमा रहेको त्यो इच्छा भनेको आफूले पढाएका विद्यार्थी जो बेलायती शेनामा कार्यरत रहेका थिए। उनीहरु अर्थात गोर्खाली सैनिकहरूबाट ‘गार्ड अफ अनर’ (सम्मान गारत) सहित आफ्नो अन्तिम बिदाइ। उनको त्यो अन्तिम बिदाइ उनले सोचे जस्तै अभुतपूर्व र स्मरणीय बन्यो। विद्यार्थीका लागि जति भावपूर्ण थियो। त्यतिनै गुरुप्रति देखाउन पाएको उच्च समानले त्यतिनै अविष्मरणीय।

सन् १९७५ देखि १९८२ सम्म बुढानीलकण्ठ स्कुलमा शिक्षक र पछि प्रधानाध्यापकको रूपमा सेवा गरेका ८२ वर्षीय जोन्सको गत डिसेम्बर अन्तिममा निधन भएको थियो। आफ्नो जीवनको अन्तिम घडीमा उनले एउटा मार्मिक र भावुक इच्छा व्यक्त गरेका थिए।

उनले स्थानीय मेयरसँग भनेका थिए, ‘बुढानीलकण्ठ स्कुलका मेरा धेरै विद्यार्थीहरू अहिले गोर्खा पल्टनमा छन्। के मेरो अन्त्येष्टिमा ति मेरा विद्यार्थी अर्थात गोर्खालीहरूले ‘गार्ड अफ अनर’ दिन सम्भव होला?’

उनको यो इच्छा मेयरमार्फत कोल्चेस्टर नेप्लिज सोसाइटीका अध्यक्ष उदयबहादुर गुरुङसम्म पुग्यो। जोन्सका विद्यार्थी र गोर्खा भेट्रानहरूले आफ्ना गुरुको त्यो अन्तिम इच्छालाई सहर्ष स्वीकार गरे।

डिसेम्बर २३ मा रोहेजस्थित सेन्ट लरेन्स चर्चमा उनको अन्त्येष्टि गरियो। क्याप्टेन उमेशकुमार पुन (एमभिओ), रुबुन गुरुङ, कुशल घले र मेजर उदयबहादुर गुरुङ (एमबीइ) ले जोन्सको कफिनलाई चर्चभित्र लैजाँदा ‘गार्ड अफ अनर’ अर्पण गरेका थिए।

मेजर उदयबहादुर गुरुङले त्यो क्षण सम्झँदै भन्ने ‘हामीले म्यानबाट खुकुरी निकालेर चर्चको प्रवेशद्वारमा एउटा ‘आर्क’ (अर्धचन्द्राकार घेरा) बनायौँ। जब उहाँको कफिन त्यो खुकुरीको छहारी मुनिबाट भित्र छिर्यो, त्यो क्षण अत्यन्तै शक्तिशाली र प्रतीकात्मक थियो। यसले एक गुरु र गोर्खाली विद्यार्थीहरू बीचको दशकौँ पुरानो गहिरो सम्बन्ध, आदर र कृतज्ञता झल्काउँथ्यो।’

अन्त्येष्टि समारोहमा रेभरेन्ड टेरी वाल्करले प्रार्थना गराएका थिए। जोन्सकी जेठी छोरीले श्रदाञ्जली मन्तव्य दिंदै आफ्ना पिताले नेपालमा बिताएका सात वर्षहरूको भावुक स्मरण गरिन्। सुरुमा अङ्ग्रेजी शिक्षक र पछि प्रधानाध्यापक बनेका जोन्सले आफ्ना विद्यार्थीहरू ब्रिटिस सेनाको माथिल्लो ओहोदामा पुगेकोमा सधैँ गर्व गर्ने गरेको उनले बताइन्।

उनले भनिन्, ‘आज बुढानीलकण्ठका तिनै पूर्व विद्यार्थी र गोर्खा भेट्रानहरूले बुबालाई अन्तिम बिदाइमा जुन सम्मान दिनुभयो, यसले हाम्रो परिवारलाई निकै गर्व महसुस गराएको छ।’
चर्चको औपचारिक सेवापछि इस्ट डोनिल्याण्ड चिहानमा उनको पार्थिव शरीरलाई विसर्जन गरिएको थियो।

हजारौँ किलोमिटर टाढा रहेको नेपाल र त्यहाँका विद्यार्थीहरूसँग गाँसिएको केन जोन्सको यो आत्मीय सम्बन्धले कोल्चेस्टरमा नेपाल र बेलायतबिचको एउटा अर्को अभुतपूर्व सम्बन्धलाइ थप नजिक बनाएको थियो।

धेरै पढिएको